सुधा देव
भारदह(सप्तरी), असोज ५ गते । जेनजी आन्दोलनको क्रममा भएको आगजनी, लुटपाट तथा तोडफोडका कारण जिल्लाको कन्चनरूप नगरपालिकामा दुई करोड ५० लाख बराबरको क्षति भएको छ ।
आन्दोलनको क्रममा ल्यापटप, कम्प्युटर, प्रिन्टर, डेक्सटप, टेबल, कुर्सी, दराज, फोटोकपी मेसिनलगायत कार्यालय प्रयोजनका लागि राखिएको सामानहरू तोडफोड, आगजनी र लुटपाट गरेपछि कार्यालय सो रकम बराबरको क्षति भएको हो ।
कार्यालयमा भएको २० प्रतिशत सरसामान तोडफोड गरेर बाहिर निकाली आगजनी गरेको र ८० प्रतिशत सामान लुटपाट गरेर लगेको कार्यालयका प्रमुख प्रशासकिय अधिकृत नवराज खड्काले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भएका सामान पनि नराम्ररी तरिकाले तोडफोड भएपछि काम लाग्ने अवस्थामा छैन । कार्यालयमा भएको फाइलहरू पनि केही जलाइएको अवस्थामा र केही जथाभावी फालिएको अवस्थामा लथालिङ्ग छ ।’’
आन्दोलनकारीले नगरपालिका परिसरमा राखिएको चार थान मोटरसाइकल जलाएको छ । नगरपालिकाका प्रमुख चढ्ने गाडी र एउटा मोटरसाइकलमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो ।
जेनजीको आन्दोलनमा घुसपैठ भएका कारण यस्तो घटना घटेको नगरपालिकाका नगरप्रमुख ललन प्रसाद गुप्ता बताँनुभयो । उहाँले भन्नुभयो, ‘‘जेनजीले यस्तो गर्नै सक्दैन । आन्दोलनपछि यो नगरपालिकासहित स्थानीयतहरू अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।’’