टोपलाल अर्याल
रेसुङ्गा (गुल्मी), असोज ५ गते । गुल्मीको विभिन्न दसैँ घर (कोत)हरूमा नवदुर्गा पूजाको तयारी सुरु भएको छ । जिल्लाका मुख्य कोतहरूमा घटस्थापनादेखि दसैँको टीकासम्म नियमित पूजा हुने गर्दछ।
इस्माकोत, धुर्कोट कोत, चन्द्रकोट कोत, मुसिकोट कोत, दरबारलगायत शक्तिपिठहरूमा दस दिन विशेष पूजा हुने गरेको छ । यी मुख्य कोतबाहेकका मन्दिरहरूमा पनि दसैँको बेला पूजा आराधना हुने गरेको छ । घटस्थापनाको अघिल्लो दिन स्थानीय, कोत र मन्दिरसँग सम्बन्धित व्यक्ति उपस्थिति भएर गोडमेल, रङरोगन र दस दिन कोतमा रहने पुजारी र पन्डितहरूको व्यवस्थापकीय काम गर्ने प्रचलन रहेको मुसिकोट नगरपालिका-२, देउरालीका युवा महेन्द्र घिमिरेले बताउनुभयो ।
नगरकै प्रमुख धार्मिक तथा ऎतिहासिक मुसिकोट कोत रहेकाले स्थानीयहरूको व्यापक उपस्थिति र सहयोग रहने घिमिरेले बताउनुभयो । मुसिकोट कोतमा विशेष गरेर नवमीको दिन दर्शनार्थीहरूको घुइँचो हुने गर्दछ । इस्माकोतमा पनि रङरोगन र सरसफाइको काम भइरहेको छ । चाँपटारीबाट बोकेर ल्याएको फूलपाती र मैदानको छत्र मन्दिरबाट ल्याएका खड्ग देवता इस्माकोतमा भित्र्याएपछी अष्टमी, नवमी र दशमीमा विशेष पूजा र मेला लाग्ने गर्दछ । विजयादशमीको भोलिपल्ट इस्मा मैदानमा सरायँ खेल्ने चलन रहेको मनकामना पूजा समिति इस्माकोतका अध्यक्ष खगराज बस्नेतले बताउनुभयो । धुर्कोटकोतमा पनि नवदुर्गा पूजाको तयारी सुरु भएको छ । दस दिनसम्म लगातार पूजा गरेर कोतमै पुजारी र पण्डित बस्ने चलन छ ।