• ५ असोज २०८२, आइतबार

गरिब तथा विपन्नलाई घर हस्तान्तरण

blog

जिल्लाका विभिन्न गाउँका गरिब तथा विपन्न नागरिकका लागि जनता आवास कार्यक्रममार्फत निर्माण गरिएका घर । तस्बिर : नन्द सिंह

नन्द सिंह

रलिङ (हुम्ला), असोज ५ गते । जिल्लाका विभिन्न गाउँका गरिब तथा विपन्न नागरिकका लागि कर्णाली प्रदेश सरकारले निर्माण गरेका ४० वटा घर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । 

गएको आर्थिक वर्ष २०८१-२०८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत विनियोजन गरेको १ करोड ६० लाख बजेटबाट निर्माण सम्पन्न भएका घरहरूलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको पूर्वाधार विकास कार्यालय हुम्लाका प्रमुख नरशेराज जैशीले जानकारी दिनुभयो ।  

प्रमुख जैशीका अनुसार कर्णाली प्रदेश सरकारको जनता आवास कार्यक्रमको सहयोगमा ४० घर सुरक्षित आवास गरिब र दलितलाई हस्तान्तरण गरिएको हो । 

जनता आवास र विपन्न घर निर्माण कार्यक्रमद्वारा अलग–अलग समुदायलाई २०, २० वटा घर निर्माण गरिएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । कर्णाली प्रदेशले १ करोड ६० लाख बजेट विनियोजन गरेको र स्थानीयले थप लगानीमा उक्त आवास निर्माण भएको हो । 

गत आर्थिक वर्ष २०८१-०८२ मा कर्णाली प्रदेश सरकारको अर्थिक सहयोगमा दुई वटा कार्यक्रमबाट चालीस वटा सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको कार्यालय प्रमुख जैसीले बताउनुभयो ।

‘कार्यक्रमबाट बीस जना न्यून आयश्रोत भएका दलितको घर निर्माण गरिएको छ भने विपन्न घर निर्माण कार्यक्रमबाट बीस जना दलित तथा न्यून आयश्रोत भएका गैरदलित व्यक्तिको घर निर्माण गरिएको हो । ‘यी घरहरु कर्णाली प्रदेश सभा सदस्यको क र ख क्षेत्रका स्थानीयका लागि निर्माण गरिएका हुन् । जसमा दुवै कार्यक्रमबाट दुवै प्रदेश क्षेत्रमा बीस-बीस वटा घर निर्माण गरेर हस्तान्तरण गरिएको हो ।’

पूर्वाधार विकास कार्यालयका अनुसार हस्तान्तरण गरेका घर दुई तले छ कोठे भवनलाई जस्तापाताले छापेर सुरक्षित गरिएको छ । एउटा भवन निर्माणका लागि कार्यक्रमबाट चार लाख रुपियाँ कार्यक्रमबाट खर्च गरिएको छ । जसका लागि कर्णाली प्रदेश भौतिक पुर्बाधार विकास मन्त्रालयबाट एक करोड साठी लाख बजेट विनियोजित गरेर निकासा भई खर्च गरिएको हो । निर्माण भएका घरमा सम्बन्धित घरधनीले केही लगानी आफूले पनि गरेको कार्यालयका प्रमुख जैशीले बताउनुभयो ।