काठमाडौंँ, असोज ५ गते। गृह एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले आइतबार सशस्त्र प्रहरीको प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले जनेजी आन्दोलनका सहिदप्रति सम्मान व्यक्त गर्दै घाइते नागरिक र सुरक्षाकर्मीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ।
मन्त्री अर्यालले भ्रमणका क्रममा अप्ठेरो परिस्थितिमा देखिएका चुनौतीको सामना गर्दै राज्य, नागरिकको सेवा र सुरक्षामा समर्पित हुन निर्देशन दिनुभयो।
उहाँले नेपाली जनताको जीवन रक्षा गर्नुभन्दा ठुलो कर्तव्य अरु केही हुन नसक्ने भन्दै सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले समेत राम्रोसँग बुझेका छन् भन्ने कुरामा विश्वास व्यक्त गर्नुभयो। मन्त्री अर्यालले आगामी दिनमा समेत कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षा अनुरूप सुरक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो। सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचालित हुँदै आएको उहाँले बताउनुभयो।
उहाँले सशस्त्र प्रहरी बल नेपालले विभिन्न आन्दोलनहरूको शान्तिपूर्ण व्यवस्थापनको लागि हुल तथा दङ्गा नियन्त्रणमा सक्षम विशेष एकाइको स्थापना तथा विकास, बख्तरबन्द सवारी, वाटर क्यानन, दङ्गा नियन्त्रण उपकरण, नियन्त्रित सामग्री र हतियारको प्राप्तिका लागि नीतिगत र बजेट व्यवस्थापनमा मन्त्रालयको आवश्यक सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।
निरीक्षणका क्रममा गृह मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीको अवलोकन गर्नुभएको थियो। गृहमन्त्री अर्यालसमक्ष सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदीले सशस्त्र प्रहरी बल नेपालको बारेमा प्रस्तुतीकरण गर्नुभएको हो।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, गृहमन्त्रालयका पदाधिकारी, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानको उपस्थिति रहेको सशस्त्रका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।