चितवन, असोज ५ गते । नेपाल प्रहरीले तत्काल हाजिर हुन भनेपछि कृष्ण महता बैतडीबाट काठमाडौँ फर्कंदै हुनुहुन्थ्यो । आमाको काजकिरिया सकेर काममा फर्कंदा उहाँ गत शुक्रबार साँझदेखि झरेको पहिरोमा परेर बाटोमै थन्किनुभएको छ । महता हाल डिल्लीबजार कारागारमा कार्यरत हुनुहुन्छ ।
“छिटो आउन भनिएको छ, यहाँ जाममा परियो”, श्रीमतीसमेत काठमाडौँ फर्कंदै गर्नुभएका महताले भन्नुभयो, “सडक कहिले खुल्छ र कहिले गन्तव्यमा पुगिन्छ थाहै छैन ।”
यस्तै गुनासो सुनाउँदै हुनुहुन्थ्यो जितपुरबाट आउनुभएका मुन्ना अन्सारी । बजार नजिक नहुँदा खानेपानीसमेत किनेर खान पाउने अवस्था भएको उहाँले बताउनुभयो । शुक्रबार साँझदेखि सडकमा बसेको कहिले खुल्छ भन्ने नै टुङ्गो नहुँदा समस्या भएको अन्सारीले बताउनुभयो । व्यवसायका लागि काठमाडौँ जान आउँदै गर्दा नारायणगढ मुग्लिन सडक खण्डमा पहिरोमा परेपछि बास नै सडकमा भएको छ ।
बझाङबाट काठमाडौँ जाँदै गर्नुभएकी लिसाकुमारी सिंह पहिरोले जाममा पर्नुभयो । सादा खानाको समेत ४०० तिरेर खान बाध्य भएको उहाँले गुनासो गर्नुभयो । उहाँ बझाङदेखि यही असोज २ गते काठामाडौँका लागि हिँड्नुभएको हो । सिंह दाउन्नेमा ११ घण्टाको जाम छिचोलेर आउँदा यहाँ फेरि पहिरोमा पर्नुभएको हो । आफूसँग भएको पैसा सकिएकाले के खाने भन्ने समस्या भएको उहाँले बताउनुभयो ।
चिउरा, बिस्कुट खाएर सडक पेटीमा दिन बिताउन बाध्य भएको सिंहले बताउनुभयो । बझाङबाट काठमाडौँका लागि ३८ देखि ३० घण्टा लाग्ने भए पनि नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा नै ३६ घण्टाभन्दा बढी बिताउनु परेको उहाँले बताउनुभयो ।
सवारी साधनको लामो लाइन भएपछि कतिपय यात्रुहरू बजार र बस्ती नभएको ठाउँमा परेका छन् । उहाँहरूलाई किनेर खान समेत समस्या छ । पहिरोका कारण सवारी साधन रोकिएपछि जिल्ला प्रशासन कार्यालय चितवनले अलपत्र परेका यात्रुलाई चाउचाउ, पानी, भुजालगायत खाद्यान्न सहयोग गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको हो ।
यस्तै सडकमा बस्दा यात्रुहरू बिरामी पर्छन् भनेर स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको छ । शिविरमा प्राथमिक उपचारका सामानहरू, आवश्यकता अनुसारका औषधी सर्वसाधारणलाई दिइएको छ । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा खसेको पहिरोमा परी हजारौँ यात्रु अलपत्र परेका छन् ।
सडक खुलाउनका लागि डिभिजन सडक कार्यालय र ट्राफिक प्रहरी लागिरहेको भए पनि पहिरो झर्ने क्रम नरोकिएकाले पन्छाउन समय लागेको हो । करिब ७० मिटर माथिबाट खसेको पहिरोका कारण १६० मिटर सडक ढाकेको छ भने १० मिटर चौडाइ र १६ मिटर उचाइ रहेको थियो । अहिले पनि पहिरो पन्छाउने क्रम जारी छ । रासस