• ५ असोज २०८२, आइतबार

प्रधानमन्त्री कार्कीसँग एनआरएनए टोलीको भेट

आर्थिक समृद्धिका लागि सहयोग गर्न आग्रह

blog

प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी । तस्बिर : एनआरएनएको सचिवालय

काठमाडौँ, असोज ५ गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा सरकारलाई सकेसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रधानमन्त्री सुशीला कार्कीसँग आइतबार भेट गरेर सङ्घका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले उक्त प्रतिबद्धता जनाएको छ । 

भेटमा प्रधानमन्त्री कार्कीले राष्ट्र पुनर्निर्माणका लागि विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो । पुनर्निर्माणका लागि नेपाली र गैरआवासीय नेपालीहरूसँग मात्रै सहयोग लिने र अपुग भए मात्रै विदेशबाट सहयोग लिने उहाँले स्पष्ट पार्नुभयो । उहाँले मुलुकमा आर्थिक समृद्धिका लागि आ–आफ्नो स्थानबाट सहयोग पुराउन आग्रह गर्नुभयो  । 

अध्यक्ष केसीले विश्वभरिका गैरआवासीय नेपालीहरू नेपाललाई समृद्ध बनाउन जुनसुकै किसिमकको सहयोगका लागि प्रतिबद्ध रहेको भन्दै आन्दोलनका क्रममा देशमा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पुनः निर्माणका लागि र मुलुकको कठिन घडीलाई सम्बोधन गर्न सङ्घ सदैव सरकारसँग हातेमालो गर्न तत्पर रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘मुलुकको जटिल परिस्थितिमा विदेशमा रहेका नेपालीहरूले मातृभूमिलाई आर्थिक रूपमा सबल र समृद्ध बनाउन सक्ने अपार सम्भावना बोकेका छन् । उनीहरूको पुँजी, सीप, अनुभव र ज्ञानलाई संस्थागत ढङ्गले प्रयोग गर्न सकिने व्यवस्था मिलाउन सके मुलुकको समृद्धिको यात्रा सहज हुने छ ।’’

अध्यक्ष डा. केसीले ‘एक पटकको नेपाली सदैव नेपाली’ भन्ने मूल उद्देश्य अनुरुप संविधान संशोधनमार्फत गैर आवासीय नेपालीहरुलाई वंशजको नागरिकताको निरन्तरतासहितको नेपाली नागरिकता उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोजन सहज रूपमा प्रत्याभूत गर्न अनुरोध गर्नुभयो । यस्तै अब हुने ऐतिहासिक निर्वाचनमा विदेशमा रहेका नेपालीहरूका लागि मताधिकार सुनिश्चित गर्न समेत अनुरोध गर्नुभयो । यसका साथै गैरआवासीय नेपाली सङ्घको १२ औँ महाधिवेशन आगामी ६ महिनाभित्रै गर्न लागिएको जानकारी समेत गराउनुभएको थियो । 

प्रधानमन्त्री कार्कीले सङ्घले मताधिकारलगायत अन्य मागलाई सरकारले सकारात्मक रूपमा लिएको तथा आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरूलाई विदेशबाट नै मतदान गर्ने व्यवस्था मिलाउने प्रयास भइरहेकाे जानकारी दिनुभयो । उक्त अवसरमा महिला उपाध्यक्ष रोजिना प्रधान राई र सङ्घका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतको पनि उपस्थिति रहेको  गर्न आग्रह गैरआवासीय नेपाली सङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।