काठमाडौँ, असोज ४ गते। सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ। सुसेलाले आफ्नो नियमित काव्यशालाको सातौँ श्रृङ्खला जेनजी शहीदको स्मृति विशेष कार्यक्रम गरेको हो।
शनिबार काठमाडौँको माइतीघरमा सुसेलाले शहीदको सम्झनामा चारवटा गीत श्रद्धाञ्जलीस्वरुप प्रस्तुत गरेको हो।
कार्यक्रममा शहीदहरूको सम्झनामा (भूपी शेरचन), वी स्याल ओभरकम (पिट सिगर), त्यो पुलिस–प्रशासन, त्यो न्यायालय (देवव्रत) र त्यो जुत्ता साथीको (विनोदविक्रम केसी) गीत गाइएको थियो।
ती गीतहरूलाई सुसेला समूहका अञ्जान बाबु, आरती विष्ट, बिराज ढुङ्गाना, श्रवण गौतम, सवीर कार्की, सौरभ ढकाल, अभिषेक शर्माले प्रस्तुत गर्नुभयो।
जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी प्रदर्शनमा सरकारी दमन हुँदा भदौ २३ गते १९ युवा शहीद भएका थिए।