• ५ असोज २०८२, आइतबार

छत्रकोट गाउँपालिकाका नागरिकलाई लालपुर्जा

blog

भूमिहीनलाई लालपुर्जा वितरण गरिदै । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रसुंगा (गुल्मी), असोज ५ गते । गुल्मीको छत्रकोट गाउँपालिकाको कार्यालय र १७ स्थानीय गरेर १८ वटा लालपुर्जा वितरण गरिएको छ ।  जिल्लाका १२ स्थानीय तहमध्ये सवैभन्दा पहिला छत्रकोटबाट लालपुर्जा वितरण सुरु गरिएको हो । 

भूमि समस्या समाधान आयोगका अध्यक्ष कृष्ण सुनारसहितको टोलीले लालपुर्जा वितरण गरेको हो । यो कामले आयोग गठन भइरहने लालपुर्जा नपाउने लाभग्राही नागरिकमा नयाँ आशा पलाएको छ । अहिले अव्यवस्थित बसोबासीलाई मात्र लालपुर्जा वितरण थालिएको भुमि आयोगका सदस्य सचिव जनकराज जोशीले बताउनुभयो । 

अहिले जंगल र सार्वजनिक जग्गामा लालपुर्जा वितरण गर्न सक्ने अवस्था छैन। दशै–तिहारपछि रुरुक्षेत्र र मदाने गाउँपालिकामा समेत अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिन सकिने जोशीले बताउनुभयो । आयोगले अहिले रुरु र मदानेका लागि हकदावी सूचना प्रकाशन गरेको छ । त्यस्तै, रेसुंगा नगरपालिकाको पनि लालपुर्जा वितरणको लागि अन्तिम चरणका काम भइरहेको छ । 

भूमि समस्या समाधान आयोग गुल्मीका अध्यक्ष कृष्ण सुनारले बिस्तारै सबै लाभग्राही लालपुर्जा पाउने गरेर काम अगाडि बढेको बताउनुभयो । उहाँले छत्रकोटका १४९ लाभग्राहीमध्ये १७ जना व्यक्ति र गाउँपालिकाले प्रक्रिया पूरा गरेपछि लालपुर्जा वितरण गरिएको बताउनुभयो । अब बिद्यालय, गाउँपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयहरुलाई बिस्तारै लालपुर्जा वितरण हुने सुनारले बताउनुभयो । 

जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी गरेर तीन हजार तीनसय बढिको निवेदन परेको छ । यो आयोग नै समस्या समाधानका लागि अन्तिम आयोग भएको सुनारले बताउनुभयो ।