पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, असोज ५ गते । पश्चिम नवलपरासी क्षेत्रमा गत भदौ २४ गते भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांश व्यक्ति जेनजी पुस्ताभन्दा माथिल्लो उमेर समूहका छन् ।
पक्राउ पर्नेमा प्रतापपुर र सुस्ता गाउँपालिकाबाट नौ र बर्दघाट क्षेत्रबाट सात जना रहेका छन् । जेनजी पुस्तामा १३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरू पर्छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, पक्राउ गरिएका व्यक्तिहरूलाई आगजनी र तोडफोडमा प्रत्यक्ष संलग्न भएको भिडियो फुटेज लगायतका प्रमाणका आधारमा पक्राउ गरिएको हो ।
उल्लेखित घटनामा जिल्लाका विभिन्न सरकारी, निजी, पार्टी कार्यालय र संघ–संस्थाहरूका संरचनामा ठुलो क्षति पुगेको थियो । विशेष गरी जनप्रतिनिधि, राजनीतिक दलका नेता र पूर्वजनप्रतिनिधिहरूको घर र सम्पत्तिमा आगजनी र तोडफोड गरिएको थियो ।
प्रहरीक अनुसार पक्राउ परेकाहरूमाथि अपराधको प्रकृतिअनुसार मुद्दा चलाउने तयारी भइरहेको छ । यस सम्बन्धमा जिल्लाका राजनीतिक दलहरूले कुनै दबाब नदिने र सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।