अमरराज नहर्की
तनहुँ, असोज ४ गते । मुग्लिन–नारायणगढ सडकखण्डमा बारम्बार पहिरो खस्दा यात्रुहरूको यात्रा कष्टकर बनेको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा खसेको ठुलो पहिराले यातायात अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । यस्तै अवस्था दोहोरिँदा तनहुँको आँबुखैरेनी गाउँपालिका र भरतपुर महानगरपालिका जोड्ने घुमाउनेको अधुरो पुल फेरि एकपटक सबैको स्मृतिमा आएको छ ।
त्रिशूली नदीमाथि आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउनेलाई जोड्ने मोटरेबल पुल सम्झौताअनुसार समयमै बनेको भए, आज यात्रुले यस्तो दुःख भोग्नुपर्ने थिएन । उक्त पुल पूरा भएको खण्डमा मुग्लिन–नारायणगढ सडकखण्डको विकल्पका रूपमा सर्वसाधारण बुद्धसिं मार्ग हुँदै सहजै गन्तव्यसम्म पुग्न सक्थे । पोखरातर्फबाट आउने यात्रु पनि डुम्रे–आँबुखैरेनी नभई सो मार्ग हुँदै भरतपुरतर्फ निस्कन सक्थे ।
तर, ११ वर्षअघि निर्माण थालिएको यो पुल अझै अधुरो छ । अहिलेसम्म दुवैतिर पिल्लर मात्र खडा भएका छन् । २०७१ साल असारमा सम्झौता भएको पुल निर्माण सञ्जीवनी निर्माण कम्पनीले अहिलेसम्म ४५ प्रतिशत मात्रै काम पूरा गरेको सडक डिभिजन कार्यालय दमौलीका सूचना अधिकारी इन्जिनियर राजेन्द्र कार्कीले जानकारी दिनुभयो । गत वर्षको बाढीले पिल्लर क्षतिग्रस्त बनाएकोले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएकाले काम रोकिएको उहाँले बताउनुभयो ।
बुद्धसिंह मार्ग सङ्घर्ष समितिका अध्यक्ष सिद्धान्त गर्जामगरले पुल बनेको भए अहिले यात्रुहरू अलपत्र पर्नु नपर्ने बताउनुभयो । ‘‘वैकल्पिक मार्ग भएर सहजै गन्तव्यमा पुग्न सकिन्थ्यो,” भन्दै निर्माणमा ढिलाइप्रति मगरले आक्रोश पोख्नुभयो । आन्दोलन, धर्ना गरी पटक पटक ध्यानाकार्षण गर्दा समेत वेवस्ता गरिएको फेरि आन्दोलन गर्ने बेला आएको उहाँ बताउनुभयो । छ महिनापछि निर्वाचन हुन लागेको र माग पूरा नभए पार्टीभन्दा माथि उठेर नेताहरुका विरुद्ध बन्दीपुर, आँबुखैरेनी र देवघाट गाउँपालिकामा बासिन्दा खबरदारी गर्ने उहाँको भनाइ छ । आँबुखैरेनी–५ का वडाध्यक्ष दिलिप गुरुङले निर्माणमा निरन्तर ढिलाइ भएको भन्दै अब दबाबका लागि आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँका अनुसार, पुल बनेपछि नारायणगढ जाने दूरी अहिलेको भन्दा ३० किलोमिटर छोटिनेछ, जसले इन्धन खर्च बचतमा ठुलो मद्दत गर्नेछ ।
एक सय पाँच मिटर लम्बाइ र करिब नौ करोड ५६ लाख रुपैयाँ लागतमा बन्ने उक्त पुल गण्डकी प्रदेशलाई चितवनको नारायणगढसँग जोड्ने सबैभन्दा छोटो मार्ग बन्नेछ । काम सम्पन्न भएपछि पोखरा र दमौलीबाट नारायणगढ पुग्न हालको भन्दा २३ किलोमिटर छोटो यात्रा हुने सडक डिभिजन कार्यालयले जनाएको छ । तर ११ वर्ष बितिसक्दा पनि पुल अधुरै रहेकाले आज यात्रुहरू अझै पहिरोमै फसेर कष्टकर यात्रा गर्न बाध्य छन् ।