यदुप्रसाद भट्ट
मनाङ, असोज ४ गते । चाडपर्व नजिकिँदै जाँदा हुन जाने खाद्य अभावलाई कम गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय मनाङले सञ्चालनमा ल्याएको दसैँ–तिहार लक्षित सुपथ मूल्यका पसलमा ग्राहकको आकर्षण बढ्न थालेको छ ।
कात्तिक १० गतेसम्म सञ्चालनमा रहने तथा दैनिक उपभोग्य सामग्री राखिएको सो पसलमा ग्राहकको आकर्षण बढ्दै गएको हो । पसलमा उपभोक्ताले चामल, तेल, चिनीलगायतका दैनिक उपभोग्यलगायत प्रमुख खाद्य सामग्री छुट मूल्यमा खरिद गरेको कार्यालय प्रमुख रामाशङ्कर कुशवाहाले बताउनुभयो ।
बजारमा सामान्यतया महँगो मानिने स्टिम जिरा मसिनो चामल, अरुवाना मन्सुली चामल, चिनी, रातो मुसुरो दाल, मास दाल प्रति केजी पाँच रुपियाँ छुटमा बिक्री गरिएको कार्यालय प्रमुख कुशवाहाले बताउनुभयो । अरुवा बासमती चामलमा भने प्रति केजी १० रुपियाँ छुट दिइएको उहाँको भनाइ छ । उहाँका अनुसार हालसम्म तेल ढुवानी भइनसकेकाले ढुवानीपश्चात बिक्री गरिने तयारी गरिएको छ ।
‘सहुलियत छुट मूल्य पसल–२०८२’ कार्यक्रमका लागि छुट्याइएको पाँच सय क्विन्टल स्वीकृत कोटामध्ये शाखा कार्यालय मनाङलाई तीन सय ५० क्विन्टल र अन्तर्गतको डिपो कार्यालय हुम्डेलाई एक सय ५० क्विन्टल विभाजन गरिएको कार्यालयले जनाएको छ । उपभोक्तालाई बढीभन्दा बढी फाइदा पुर्याउन प्रत्येक ग्राहकलाई बढीमा दुई क्विन्टल चामल, २०÷२० केजीसम्म दाल र चिनी बिक्री गरिने भएको छ । हुम्डे शाखामा चामल, मास र मुसुरो दाल बिक्री वितरण गरिने छ भने चामे शाखाबाट दाल, चामल र चिनी बिक्री गरिने कार्यालयले जनाएको छ ।
सहुलियत पसलबाट कृत्रिम मूल्यवृद्धि तथा कालोबजारी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । हरेक चाडपर्वमा बजारमा अचानक मूल्य बढ्ने, उपभोक्ता ठगिने तथा व्यापारीले कृत्रिम अभाव सिर्जना गर्नेजस्ता समस्या देखिने भएकाले यसपालि समयमै सुपथ मूल्य पसल सञ्चालन गरिएको कार्यालय प्रमुख कुशवाहाले जानकारी दिनुभयो ।
स्थानीय उपभोक्ताले भने सुपथ मूल्य पसलले आफूहरूलाई राहत पुगेको बताएका छन् । चामेका युवा उद्यमी तथा होटल व्यवसायी शेराप विष्टले चाडपर्व तथा पर्यटकीय सिजनमा सञ्चालित सुपथ मूल्य पसलले राहत मिलेको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार सुपथ मल्य पसल नियमित रूपमा सञ्चालन हुने र आवश्यकताअनुसार थप सामग्री उपलब्ध गराउने तयारी गरिएको छ ।