गुणबहादुर रोका
सुलीकोट, असोज ४ गते । गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ की ३० वर्षीया रञ्जिता कट्टेललाई शनिबार बिहान ९ बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
‘बिगत छ दिनदेखि व्यथाले च्यापे पनि डेलिभरी हुन सकेको थिएन’ प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, ‘बच्चा पाउन समस्या भएपछि काठमाडौँ र चितवन सडक पहिरोले अवरुद्ध हुँदा बच्चा र महिलाको स्वास्थ्य अवस्थामा ख्याल गर्दै हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ ।’
यो पटक भने गर्भवती महिलाको समयमै उद्धार भएको छ, प्रहरी निरीक्षक कार्कीले भन्नुभयो, ‘सडक बाटो भएर काठमाडौँ जान सम्भब नभएपछि नेपाल प्रहरीको समन्वयमा हेली आएको थियो ।’ हामीले बिहान ४ बजे हेलीका लागि जिल्ला प्रशासन कार्यालय गोरखा, गृह मन्त्रालय, हेलिकाेप्टरलाई खबर गरेका थियौ, करिब ९ बजेको समयमा हेली आयो ।’
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गर्भवती महिलालाई प्रसूति मितिभन्दा अगावै बेथा लागेकाले गोरखामा उपचार सम्भब नभएपछि हेलिकाेप्टरबाट उद्धार गरेर काठमाडौको थापाथलीस्थित प्रसूति गृहमा लगिएको छ ।