नौरते नेपाली
सिँजा (जुम्ला), असोज ३ गते । जुम्लाको तातोपानी गाउँपालिका –५ लाम्राका कमल सार्कीको घरमा शुक्रबार आगलागी भएको छ । टिनले छाएको १२ कोठे कच्ची घरको पहिलो तलाबाट आगो लागेको स्थानीयको भनाइ छ ।
आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय जुम्लाबाट प्रहरी हवल्दार रामप्रसाद बजगाईको नेतृत्वमा चार जनाको टोली खटाइएको छ । यस्तै, कर्णाली विपद् व्यवस्थापन गुल्म जुम्लाबाट प्रहरी निरीक्षक प्रकाश हमालको कमाण्डमा १४ जनाको अतिरिक्त टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३३ गुल्म, जुम्लाको टोली समेत उद्धार तथा आगो निभाउने कार्यमा सक्रिय रूपमा संलग्न भएको छ । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागिबाट भएको क्षतिको विस्तृत विवरण भने संकलन भइ नसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।