• ३ असोज २०८२, शुक्रबार

रुसी विदेश मन्त्री लाभरोभ र रुबियोबिच अर्को हप्ता भेटवार्ता हुने

blog

रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी समकक्षी मार्को रुबियो ।

मस्को, असोज ३ गते । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको आक्रमण अन्त्यका लागि कुनै सम्झौता नगरेकोमा मस्को र रुसी नेता भ्लादिमिर पुटिनप्रति आक्रोश व्यक्त गरिरहेका समय दुई उच्च कुटनीतिज्ञबिच भेट वार्ता हुन लागेको हो । आफ्नो चुनावी अभियानमा राष्ट्रपति पदमा फर्किएपछि ट्रम्पले द्वन्द्व चाँडै अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो तर पुटिनले युद्धविरामका लागि आफ्नो अडानबाट पछि नहटेपछि युद्धविराम हुन सकेको छैन । 

उहाँले मस्कोको सर्तमा शान्ति सम्झौता हुन नसकेमा लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । लाभरोभ र रुबियोले द्विपक्षीय र बहुपक्षीय दुवै विषयमा छलफल गर्ने छन् । “अहिलेसम्म कुनै विशेष एजेन्डा छैन, तर बैठकको योजना बनाइएको छ,” संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले भन्नुभयो । 

रुस र युक्रेनबिच तीन चरणको वार्ताले सम्झौताको दिशामा कुनै प्रगति गरेको छैन । सन् २०२२ को फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता दशौँ हजार व्यक्ति मारिएका छन् भने लाखौँ युक्रेनीलाई देशको पूर्वी र दक्षिणमा रहेको आफ्नो घरबाट विस्थापित भएका छन् । 

पुटिनले आफूलाई ‘वास्तवमै निराश पारेको’ राष्ट्रपति ट्रम्पले बिहीबार बताउनुभएको थियो । उहाँले क्रेमलिनलाई वार्षिक दशौँ अर्ब डलर प्रदान गर्ने रुसी तेल खरिद नगरी वार्ताका लागि दबाव दिन सहयोगी मुलुकलाई आग्रह गर्नु भएको छ । रासस/एएफपी