अर्थविद् डा. यादवप्रसाद पन्त (१९८२–२०६४) देशको पहिलो विद्यावारिधि हासिल गर्ने अग्रणी अर्थशास्त्री हुन् । उनले भारतको प्रसिद्ध बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि ग्रहण गरेका छन् । पछि यही विषयमा विद्यावाचस्पति अर्थात् डिलिटको उच्च विभूषणलाई वरण गरेका हुन् ।
बाल्यावस्थामा नै मातृवियोगबाट आहत उनले जीवनपर्यन्त वाङ्मयीय साधनामा आफूलाई समर्पित गरे । नेपालको शैक्षणिक, प्रशासनिक, आर्थिक तथा वित्तीय, राजनीतिक, कूटनीतिक, पत्रकारिता, साहित्यिक, आध्यात्मिक जस्ता सामाजिक जीवनका प्रायः सम्पूर्ण पक्षमा गौरवशालीमात्र होइन, सफल भूमिकामा प्रस्तुत उनको व्यक्तित्वलाई केवल कुनै एक कोणबाट मूल्याङ्कन गर्नु अवश्य निष्पक्ष हुँदैन ।
बहुआयामिकता
बनारसबाट उच्च उपाधि ग्रहणपश्चात् स्वदेश आगमनसँगै डा. पन्तले २००८ सालबाट देशकै सर्वप्राचीन कलेज त्रिचन्द्र कलेजमा प्राध्यापकीय कुशलतालाई आलोकित गर्ने कार्य गरे । २०१३ सालमा नेपालको पहिलो राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा कार्य गरेसँगै उनमा रहेको प्रशासकीय दक्षताले पल्वित हुँदै २०१८ सालदेखि २०२५ सालसम्म नेपाल सरकारको अर्थसचिव पदसम्म ल्याइ पु¥याउँदा पूर्ण वयस्क वृक्षको रूप लिइसकेको थियो ।
२०२५ सालमा देशको केन्द्रीय बैङ्क अर्थात् नेपाल राष्ट्र बैङ्कका गभर्नर पदमा आसीन हुँदा उनले देशको बैङ्किङ प्रशासनलाई सुव्यवस्थित बनाउने मात्र होइन, बरु देशको छविलाई अन्तर्राष्ट्रियकरणसमेत गरेका छन् । उनले देश र विदेशका विविध उच्च पदीय जिम्मेवारीलाई विविध काल र अवसरमा सहजताका साथ दिशानिर्देश गर्दै परिणामात्मक उचाइसम्म पु¥याएर आफ्नो क्षमतालाई प्रमाणित गरिछाडेका छन् ।
डा. यादवप्रसाद पन्तको सामाजिक जीवनको दोस्रो चरण राजनीति तथा कूटनीतिसँग सम्बन्धित छ । उनको राजनीतिक जीवनको आरम्भ २०३७ सालमा तत्कालीन राष्ट्रिय पञ्चायतका सदस्यमा मनोनयनबाट हुन गएको हो । २०४३ सालमा सम्पन्न राष्ट्रिय पञ्चायत निर्वाचनका क्रममा सर्वाधिक जनमतका साथ चुनिए ।
त्यसपछि देशका अर्थ तथा सामान्य प्रशासन राज्यमन्त्री हुँदै अर्थ, वाणिज्य र आपूर्ति मन्त्री एवं जलस्रोत मन्त्रीको ओहोदामा समेत पुगे । राजनीतिको जटिल परिवेशमा पनि स्वच्छ एवं अनुकरणीय छविको दृष्टान्त प्रस्तुत गरेका डा. पन्तले कूटनीति र अन्तर्राष्ट्रिय समाजसँग जुडेर उत्तिकै सिद्धहस्तता प्रस्तुत गरेका छन् । जापानका लागि आवासीय राजदूतका पदमा रहँदा जापानसितको नेपालको सम्बन्धलाई विशिष्ट उचाइ प्रदान गर्न उनले विशेष भूमिका निर्वाह गरेका छन् ।
पत्रकारिता र साहित्यमा योगदान
डा. पन्तको जीवनका कतिपय व्यक्तित्वले आर्थिक, प्रशासनिक, राजनीति र कूटनीतिको वटवृक्षको विशालतामुनि आपूmलाई खासै मौलाउने अवसर पाएका छैनन् । व्यावसायिकताभन्दा परको खेलकुद तथा भक्ति र कर्मको संयोजनवादी अध्यात्मले उनको जीवनमा विशेष र महìवपूर्ण स्थान राख्दथ्यो भन्ने कुराको साक्ष्य उनको जीवनसम्बन्धी विविध प्रसङ्गले स्पष्ट पारेको छ ।
हजुरबुबा पण्डित ताराप्रसाद पन्त तथा बुबा विष्णुप्रसाद पन्तबाट पैतृक रूपमा प्राप्त आस्तिकता र धार्मिकवृत्ति उनको हृदयको अन्तरतहमा प्रगाढ बनी बसेको थियो । यसले जीवनका प्रत्येक क्षण र क्षेत्रमा उनलाई सदा मार्गदर्शन र अनुप्राणित गरेकै थियो । डा. पन्तका ससुराबुबा तथा प्रसिद्ध साहित्यकार सरदार रुद्रराज पाण्डे आध्यात्मिक चित्तका व्यक्ति थिए । उनको प्युखा, काठमाडौँस्थित निवासमा भारतको मध्यप्रदेशस्थित जबलपुर सहरका एक प्रख्यात सन्तका रामस्नेहीबाबा भक्त आइरहने गर्थे । उनै रामस्नेहीबाबाका परम प्रभावशाली शिष्य गोपालबाबासँग भेटघाटको मौका मिल्दा डा. पन्त निकै प्रभावित भए । पछि तिनकै सानिध्यमा रही उनले अध्यात्मको माध्यमबाट जीवनजगत्सम्बन्धी गुढ रहस्यलाई निरन्तर बुझ्ने प्रयास गरेका थिए ।
आध्यात्मिकता र भौतिकताबिचको समन्वयमा नै उनको जीवनदर्शनले गति लिएको स्पष्ट देखिन्छ । खासमा यी दुई पक्ष उनका जीवनसँग अभिन्न रूपमा जोडिएकै छन् ।
डा. पन्तले विगतमा पत्रकारिताको क्षेत्रमा समेत उल्लेख्य योगदान दिएका छन् । खासमा पत्रकारिता र साहित्यले उनको जीवनमा समानान्तर रूपमा वा भनौँ सँगसँगै मौलाउने अवसर पाएको छ । उनका लेखरचना देशविदेशबाट प्रकाशित हुने विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा छापिने गरेको तथ्य हाम्रासामु यत्रतत्र पाइएकै छन् तर स्वयम् उनकै नेतृत्व र संलग्नतामा पत्रपत्रिका (केही मुखपत्रसमेत) प्रकाशित भएको विभिन्न सूचना पनि पाइएका छन् ।
नेपाली साहित्यका अन्वेषक शिव रेग्मीका अनुसार आर्थिक क्षेत्रका विशिष्ट विद्वान् डा. साहेबले २०१० सालमा श्रीमती रमा पन्तको सम्पादनमा जनविकास मासिक निकाल्नुभएको थियो ।.... जनविकास मासिक पत्रिका त्यतिखेरको छापाखाना तथा पत्रपत्रिका ऐन अनुसार सदर पुलिस गोश्वारामा दर्खास्त ३५ लिएर प्रकाशित भएको थियो । यो पत्रिका गृस्मबहादुर देवकोटा (नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास, २०२४) का अनुसार वर्ष १ अङ्क १२ सम्म निक्ल्यो । यो पत्रिकाले साहित्यिकभन्दा पनि त्यस समयको सामाजिक, राजनीतिक तथा आर्थिक लेखरचना बढी मात्रामा प्रकाशित गर्ने गर्दथ्यो । (रेग्मी,२०६७ ः ३९०)
डा. पन्तले ‘कविशिरोमणिको ऐतिहासिक रथयात्रा’’ (२०६२) संस्मरणात्मक पुस्तकमा सङ्गृहीत ‘राष्ट्रिय हृदय समर्पित रथयात्रा’ शीर्षकको आफ्नो एक लेखमा ‘त्यस बेला म त्रिचन्द्र कलेजमा अर्थशास्त्रको प्राध्यापक हुँदाहुँदै पनि एक साप्ताहिक पत्रिकाको सम्पादनमा संलग्न थिएँ । सो पत्रिका साहित्यिक, सामाजिक, राजनीतिक र आर्थिक विषयहरूको मिश्रणका रूपमा हुन्थ्यो ।’ (पन्त, २०६२ ः ३९) भनेर स्वीकार गरेबाट उनी पत्रकारिताको क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न रहेको तथ्य सिद्ध हुन्छ, तर उनले आपूmले सम्पादन गरेको उक्त पत्रिका कुन थियो र त्यो कहिले प्रकाशित भएको थियो भन्ने स्पष्ट पारेका छैनन् । यसर्थ यस विषयमा अझै अनुसन्धान हुन बाँकी नै छ ।
नेपालमा २००७ सालको प्रजातान्त्रिक व्रmान्तिपश्चात् नेपालको साहित्यलाई नयाँ गतिमा हिँडाउन भनेर २०११ सालमा डा. पन्तको सभापतित्व तथा पोषणप्रसाद पाण्डे, आरके मिश्र, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्रसिंह प्रधान, शशीकला जस्ता साहित्यिक व्यक्तित्वसमेत पदाधिकारी रहेको ‘नेपाल जनसाहित्य सङ्घ’ स्थापना भएको थियो । उक्त संस्थाले २०११ सालमा जनसाहित्य द्वैमासिक पत्रिका प्रकाशित गरेको जानकारी पाइन्छ । उक्त पत्रिका केवल तीन अङ्क मात्र प्रकाशित भएको छ । यस पत्रिकाको सम्पादक मण्डलमा डा. पन्तलगायत श्रीमती रमादेवी, पुष्करशमशेर, बालकृष्ण सम, पोषणप्रसाद पाण्डे, गोविन्दप्रसाद लोहनी, कृष्णचन्द्रसिंह प्रधानजस्ता व्यक्तित्वको सहभागिता रहेको जानकारी अन्वेषक शिव रेग्मीको अतीतका पाना (२०६३) अन्वेषणमूलक ग्रन्थमा उल्लेख छ ।
वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितका अनुसार नेपालका पूर्वप्रधानमन्त्रीसमेत रहेका मनमोहन अधिकारी महासचिव हुँदा नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सांस्कृतिक मुखपत्र नभनीकनै साहित्यकार धनुषचन्द्र गौतमको सम्पादकत्वमा प्रकाशन गरेको सांस्कृतिक पत्रिका संरक्षक डा. यादवप्रसादको नाममा प्रकाशित गरेको थियो ।
डा. यादवप्रसाद पन्त आपूm नेपाल राष्ट्र« बैङ्कको गभर्नर पदमा रहँदा साहित्यलाई समेत उत्तिकै महìव दिने तथा यसै बैङ्कबाट २०२९ सालदेखि मासिक रूपमा निरन्तर प्रकाशित हुने मिर्मिरे पत्रिकाको जग बसालिदिने काम पनि सुसम्पन्न भएको जानकारी देवघाट आध्यात्मिक, वैदिक सेवा परिषद्, देवघाटका अध्यक्षसमेत रहेका आचार्य नारायणप्रसाद तिम्सिना ‘मधुप’ बाट जानकारी प्राप्त भएको छ ।
डा. पन्तले विविध अवसरमा पत्रकारिताको क्षेत्रमा कार्य गरी नेपाली पत्रकारिता जगत्लाई मात्र नभई प्रत्यक्ष वा परोक्ष रूपमा भए पनि साहित्यिक जगत्मा समेत योगदान गरेका छन् । डा. पन्तमा नैसर्गिक रूपमा साहित्यानुराग रहेको पाइन्छ । उनी स्वयम्ले नै आपूmसाहित्यको न शिक्षार्थी, न शिक्षक, न साधक, न समालोचक भए तापनि टाढाबाट स्वस्पूmर्त रूपले साहित्यको सीमित अध्ययन गरेको तथा साहित्य आफ्नो गहन अध्ययनको विषय नभएर एक साधारण नैसर्गिक रुचि मात्र रहेको अगाडि सारेका छन् (पन्त, २०६२ ः ४०), तर यो उनमा रहेको बडप्पन अथवा विनीत पक्ष हो भन्न सकिन्छ ।
डा. पन्तको नेपालका त्यस बेलाका प्रायः सबै प्रतिष्ठित साहित्यकार तथा सर्जकहरूसँग व्यक्तिगत परिचय, चिनजान, उठबस तथा दौतरीको सम्बन्ध रहेको यथेष्ठ प्रमाण पाइन्छन् ।
वरिष्ठ साहित्यकार श्यामदास वैष्णवले उनले साहित्यिक र सांस्कृतिक गतिविधितिर सहयोग गरेको तथा उनको निवासमा महाकवि लक्ष्मीप्रसाद देवकोटालगायत नाट्यसम्राट् बालकृष्ण सम जस्ता प्रतिष्ठित साहित्यकारहरू साहित्यिक भेलामा सरिक हुने गरेको (वैष्णव, २०६७ ः ४००) ऐतिहासिक प्रसङ्ग उल्लेख गरेका छन् । यस प्रकार उनीबाट नेपाली भाषासाहित्यको उन्नयन, स्थापना तथा सङ्गठनात्मक विकासमा खुलेरै निकै कार्य गरिएको पर्याप्त दृष्टान्त पाइएका छन् ।
नेपालमा राष्ट्र«भाषाको माध्यमबाट शिक्षा प्रदान गर्नाले बढीभन्दा बढी नेपाली लाभान्वित हुने र सहज पनि हुने भन्ने उद्देश्यले देशमा राष्ट्र«भाषा शिक्षा प्रणाली सञ्चालन गर्ने बारे २००८ सालमा विविध क्षेत्रका ख्यातनामा महानुभावहरूको सम्मति सङ्कलन गर्ने व्रmममा डा. पन्तले ‘‘कुनै पनि देशमा शिक्षा राष्ट्र«भाषामा भएमा मात्र शिक्षा सरल र साथैसाथ छिटोसमेत हुन सक्छ ।.... विभिन्न सुधारमध्ये शिक्षाको माध्यम आफ्नै राष्ट्र«भाषालाई नै दिनु पनि एक आवश्यक सुधार हो ।’’ भन्ने विचार व्यक्त गरेका छन् । उनमा रहेको नेपाली भाषा र साहित्यप्रतिको सम्मान र अनुरागले गर्दा नै उनले यस किसिमको अभिव्यक्ति दिएको स्पष्ट हुन्छ ।
नेपाली वाङ्मयमा विशेष गरी आर्थिक र समसामयिक विषयमा आलोचनात्मक एवं बौद्धिक साहित्य सिर्जना गर्ने डा. पन्तको नेपाली साहित्यको क्षेत्रमा कुनै सग्लो पुस्तकाकार कृति प्रकाशित भएको जानकारी पाइँदैन । त्यस्ता कृति अर्थशास्त्रसम्बन्धी धेरै कृति छन् तापनि अहिलेसम्म उपलब्ध छैन । उनले यस किसिमको साहित्यिक कृतिको रचनामा अभिरुचि नै नदेखाएको भने होइन । उनले आत्मवृत्तान्त अभिलेखन सेवा तथा भरत पोख्रेलको मद्दत लिई आफ्नो आत्मवृत्तान्त ग्रन्थको मसौदा तयार पारेका थिए ।
साहित्यकार पुष्करशमशेर जबरा अध्यक्ष रहेको नेपाली भाषा प्रकाशनी समितिले २००९ सालमा नेपाली भाषासाहित्यको अध्ययन अध्यापन गराउने प्रयोजनले ‘नेपाली गद्य सङ्ग्रह’ भाग दुई प्रकाशित गर्दा उक्त पुस्तकाकार कृतिमा डा. पन्तको ‘पुँजीवाद कि समाजवाद’ शीर्षकको एक विचारप्रधान आलोचनात्मक लेखलाई समावेश गरेको छ । उनको राष्ट्रभाषा (२०५५ साउन, वर्ष ८) वार्षिक पत्रिकामा ‘साहित्यमा प्रगतिशीलता’ शीर्षकमा एक चिन्तनप्रधान वा वैचारिक समालोचनात्मक निबन्ध प्रकाशित छ ।
यस निबन्धमा उनले विश्वसाहित्यमा प्रगतिवादी चिन्तनको प्रभाव तथा साहित्यमा प्रगतिवादी विचारको प्रयोगको उद्देश्यका विषयमा सूक्ष्म अध्ययन गरेका छन् । यसै प्रकारले उनको नेपाली शिक्षा परिषद्, काठमाडौँद्वारा प्रकाशित ‘कविशिरोमणिको ऐतिहासिक रथयात्रा’ (२०६२) ग्रन्थमा ‘राष्ट्रिय हृदय समर्पित रथयात्रा’ शीर्षकमा एउटा संस्मरणात्मक लेख प्रकाशित भएको फेला पर्छ ।
२००८ सालमा कविशिरोमणि लेखनाथ पौड्यालको ऐतिहासिक रथयात्राको प्रसङ्गमा उक्त ऐतिहासिक रथयात्रा समारोह समितिमा आपूm सदस्य भएको नाताले पनि तथा एक प्रत्यक्षानुभूत गर्ने साक्षी भएकाले पनि उनले यस लेखमा उक्त घटना अथवा अवसरको ऐतिहासिक र साहित्यिक महìव तथा उपलब्धिको लेखाजोखा गरेको पाइन्छ । डा. पन्तले नयाँ नेपाल पोस्ट (वर्ष ३२, अङ्क ८) मा प्रकाशित एक संस्मरणात्मक लेखामा आपूm र आफ्नो जीवनको उपलब्धि र सफलताको रहस्यका बारेमा स्पष्ट पारेको तथ्य वरिष्ठ पत्रकार देवेन्द्र गौतमले जानकारी गराएका छन् ।
डा. पन्तको नेपाली साहित्यको क्षेत्रमा रहेको योगदानको मूल्याङ्कन गर्ने आधार उनका प्रकाशित साहित्यिक कृति मात्र नभई नेपाली भाषा र साहित्यप्रति उनमा रहेको निष्ठा र अनुराग नै बढी महìवपूर्ण देखिन्छन् । उनका साहित्यिक कृतिको सङ्ख्या निकै देखिँदैनन् । उनीद्वारा जेजति कृतिको रचना भएका छन् ती प्रायः समालोचनात्मक अथवा संस्मरणात्मक प्रकृतिका निबन्ध विधाका रचना मात्र रहेका छन् ।
साहित्यिक रचनाको गुणात्मकताको मूल्याङ्कन उनको नेपाली साहित्यप्रति रहेको समर्पण तथा त्यसको उन्नतिका लागि गरिएका प्रयासमा जानकारी हुन्छ । डा. पन्त खासमा नेपाली साहित्यको श्रीवृद्धि र उन्नयनका लागि सदा तत्पर रहेर सङ्गठनात्मक कार्यमा लागिरहने व्यक्ति हुन् ।
उपसंहार
नेपाली अर्थजगत् तथा राजनीतिक एवं कूटनीतिक क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्व पन्त नेपाली भाषा र साहित्यजगत्सँग प्रत्यक्ष जोडिएका व्यक्ति हुन् । डा. पन्तले नेपाली साहित्यका क्षेत्रमा खासै परिणामात्मक कृतिगत योगदान गर्न नसके पनि उनीद्वारा विविध अवसर र समयमा विभिन्न साहित्यिक व्यक्तित्व तथा सङ्घ संस्थासँग आबद्ध रही नेपाली भाषा तथा साहित्यको उन्नयन तथा श्रीवृद्धिका लागि गुणात्मक प्रयास गरेको प्रत्यक्ष देखिएको छ । नेपाली भाषा र साहित्यप्रतिको अगाध भक्ति तथा अनुरागका कारण नै उनीद्वारा समय समयमा गरिएका प्रयास पनि यहाँ महìवपूर्ण छन् ।