किभ, युक्रेन, असोज ४ गते । युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । क्षेत्रीय सैनिक प्रशासनका प्रमुख सेर्गी लिसाकले बताएअनुसार, रूसले ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी आवासीय क्षेत्रमा आक्रमण गरेको थियो, जसबाट भवनमा क्षति पुगेको र आगलागीसमेत भएको छ ।
युक्रेनभर हवाई आक्रमणको सतर्कता जारी गरिएको छ । राजधानी किभ वरपरका क्षेत्रमा पनि आक्रमण भएको छ । किभ क्षेत्रीय सैनिक प्रशासन प्रमुख मिकोला कालाशनिकले भन्नुभयो, “सत्रु पक्षले आत्मघाती ड्रोन र क्षेप्यास्त्र प्रयोग गरी शान्तिपूर्ण बस्तीलाई निशाना बनाएको छ ।”
त्यसै गरी, दक्षिण युक्रेनको सहर माइकोलाइभमा पनि यस्तै प्रकारको हमला भएको भए पनि मानवीय क्षति नभएको जानकारी नगरप्रमुखले दिनुभयो । रुसी अधिकारीहरूले भने, युक्रेनी सेनाले भोल्गोग्राद र रोस्तोभ क्षेत्रमा ‘ठूलो स्तरको हमला’ प्रयास गरेको तर त्यसलाई सफलतापूर्वक रोकिएको दाबी गरेका छन् । साथै, साराटोभ क्षेत्रमा एक जना सामान्य रूपमा घाइते भएको जानकारी दिएका छन् । रासस/एएफपी