• ५ असोज २०८२, आइतबार

सेवा प्रवाह गर्न सकस

blog

आगजनीबाट क्षतिग्रस्त जिल्ला प्रशासन कार्यालयको भवन । तस्बिर :बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, असोज ५ गते  । सिन्धुली जिल्लामा जेनजी समूहको आन्दोलनका व्रmममा आगजनी र तोडफोडबाट ध्वस्त भएका सरकारी कार्यालयलाई सेवा प्रवाह गर्न सकस परेको छ । सेवा प्रवाहका लागि सुरक्षित भवन, आवश्यक पर्ने अभिलेख, उपकरण, फर्निचर, सर्भर, बजेट अभावलगायतका कारण सकस परेको सम्बन्धित कार्यालयले जनाएको छ । सिन्धुलीमा आगजनी तथा तोडफोडबाट बढी क्षति पुगेका जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कमलामाई नगरपालिका र कमलामाई नगरपालिकाकै वडा नं. ४, ५ र ६ को वडा कार्यालयलाई सेवा प्रवाहमा कठिनाइ भएको जनाइएको छ ।

आगजनी र तोडफोडबाट ध्वस्त सरकारी कार्यालयका भवनमा सरसफाइ गर्ने काम सकिए पनि नागरिकलाई दिने सेवा प्रवाहमा समस्या देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी आएका सेवाग्राहीलाई नागरिकता र नागरिकताको प्रतिलिपि दिने काम भएको र अरू सेवा अझै सुचारु गर्न बाँकी रहेको बताउनुहुन्छ । 

राष्ट्रिय परिचयपत्रका लागि नेटवर्किङ पूरा भई नसकेकाले केन्द्रबाटै स्क्यानिङको सिस्टम मिलाउन बाँकी रहेको र राहदानीका लागि राहदानी विभागबाट सिस्टम आइनसकेको उहाँले जानकारी दिनुभयो । “हाम्रो यहाँ नेटवर्किङ पूरा हुनु प¥यो, त्यो पूरा भइसकेको छैन,” सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले भन्नुभयो, “राहदानी विभागबाट सामान आइपुग्यो भने मङ्गलबारबाट राहदानीको काम सुरु गर्न सकिन्छ कि भन्नेमा छौँ ।” आगजनीबाट कार्यालयमा रहेका सर्भरमा भएको क्षति रिकभर हुन नसक्दा राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकता जस्ता महìवपूर्ण सेवा दिन सकस भएको कार्यालयले जनाएको छ । क्षतिग्रस्त कार्यालयले गत सोमबारबाट नै आंशिक सेवा प्रवाह गरेको जनाए पनि विभिन्न कारणले अलमल भइरहेको हो ।

भवनका झ्यालढोका आगजनी र तोडफोड हुनुका साथै सिसा फुटाउनाले सेवा प्रवाहका लागि भवनसमेत सुरक्षित नभएको कर्मचारीको गुनासो छ । सरसफाइ गरी क्षतिग्रस्त भवनबाट आंशिक सेवा प्रवाह सुरु गरेको जिल्ला अदालतका सूचना अधिकारी डेढकुमार ढकालले जानकारी दिनुभयो । आगजनीबाट अदालत पूर्ण रूपमा नष्ट भएकाले मुद्दाका मिसिल, इजलास, फाँट, कम्प्युटर, प्रिन्टरलगायत अन्य भौतिक वस्तु नहुँदा अदालतबाट नगरी नहुने सेवा प्रवाह मात्रै हाललाई सुचारु गरिएको उहाँको भनाइ छ । दसैँअगाडि नयाँ मुद्दासमेत दर्ता नहुने उहाँले बताउनुभयो । काम गरौँभन्दा पनि गर्ने वातावारण र सकिने अवस्था पनि नभएको उहाँको गुनासो छ ।

कमलामाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज बरालले सिफारिस दिने जस्ता सामान्य काम सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगजनी र तोडफोडबाट कार्यालयका कुनै सामान बाँकी छैन । नागरिकलाई सेवा दिन जेजति गर्न सकिने अवस्था छ त्यही अवस्थाबाट सुरु गरेका छौँ ।”