सुजल श्रेष्ठ
प्युठान, असोज ५ गते । जिल्लाका दुई वटा स्थानीय तहमा कृषि तथा पशुपक्षी सेवा केन्द्र स्थापना गरिएको छ । पालिका भित्रका कृषकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा नयाँ भवनसहित सेवा केन्द्र स्थापना गरिएको हो ।
यसअघि पालिकाले कृषि तथा पशु विकास शाखाबाट सेवा प्रवाह गर्दै आएका थिए । ग्रामीण उद्यम तथा आर्थिक विकास काेरिडोरको लगानीमा दुवै पालिकामा भवन निर्माण गरिएको हो । यस भवनबाट किसानलाई प्रयोगशालासहितको सेवा दिइने प्युठान नगरपालिका नगर प्रमुख विष्णुबहादुर योगीले बताउनुभयो । “किसानले अव ल्याब सेवा समेत सहज रूपमा पाउने छन्,” उहाँले भन्नुभयो, “यसले किसानको समस्या समाधान गर्न ठुलो मद्दत मिल्ने छ ।”
कृषि तथा पशुपक्षी सेवा केन्द्रको भवनमा अपाङ्गमैत्री संरचना, कृषि तथा पशुपक्षी सेवामा आवश्यक प्रयोगशाला, तालिम हलसहित आधुनिक सेवा प्रवाहका लागि आवश्यक संरचनाहरू निर्माण गरिएको छ ।
ग्रामीण उद्यम तथा आर्थिक विकास काेरिडोरले दुवै पालिकालाई भवन हस्तान्तरण गरेको छ । स्थानीय तह बनेपछि किसानले सहज रूपमा कृषि र पशुपालनसम्बन्धी सेवा पाउन नसकेको गुनासो थियो । सेवा केन्द्र स्थापनाले कृषकका समस्या समाधान हुने आशा लागेको प्युठान नगरपालिका–३, कुवापानीका रविन्द्र पाण्डेले बताउनुभयो ।