• ५ असोज २०८२, आइतबार

लमजुङमा डेढ करोड बढी विद्युत बक्यौता

blog

नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण कार्यालय । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, असोज ५ गते । नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रमा डेढ करोड बढी विद्युत् बक्यौता बाँकी रहेको छ । आर्थिक वर्ष २०८१–८२ मा केन्द्रमा एक करोड ६५ लाख ३२ हजार दुई सय ४२ रुपियाँ १६ पैसा बक्यौता रहेको हो ।

वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा धेरै विद्युत् बक्यौता राख्नेहरूमा सामुदायिक विद्युत् उपभोक्ता संस्थाको छ । लमजुङ विद्युत उपभोक्ता संस्थाको मात्र ९१ लाख २६ हजार एकसय १३ रुपियाँ ५९ पैसा बक्यौता रहेको वितरण केन्द्रले जनाएको छ । 

उपभोक्ता संस्थाहरूले समयमै प्राधिकरणलाई नियमित विद्युत् महसुल नबुझाउँदा बक्यौता रकम बढी भएको वितरण केन्द्रका प्रमुख मेघनाथ भट्टराईले बताउनुभयो । केन्द्र प्रमुख भट्टराईका अनुसार केही संस्थाहरूको पुरानो विवादित रकम समेत बक्यौताको रूपमा रहेको छ । 

उपभोक्ता संस्था बाहेक जिल्लामा साधारण ग्राहस्थ ग्राहकबाट ३८ लाख ९५ हजार तीनसय ७६ रुपियाँ ८५ पैसा विद्युत् बक्यौता रहेको छ । त्यसैगरी गैर ग्राहस्थ ग्राहकबाट ३२ हजार तीन सय ३७ रुपियाँ ५८ पैसा, व्यावसायिक ग्राहकबाट ११ लाख ३३ हजार ७९ रुपियाँ २४ पैसा, औद्योगिक ग्राहकबाट १४ लाख २२ हजार आठ सय ६ रुपियाँ ४६ पैसा विद्युत् बक्यौता रहेको छ । 

त्यसैगरी सडक बत्ती अन्तर्गत स्थानीय तहबाट पाउनुपर्ने रकम ४३ हजार ४८ रुपियाँ ८२ पैसा, सरकारी अनुदान सात लाख ३६ हजार ६ सय ६२ रुपियाँ ६६ पैसा, सिँचाइबाट आठ हजार ८९ रुपियाँ २९ पैसा, खानेपानी तथा सरसफाइ समितिबाट एक लाख १० हजार एक सय २६ रुपियाँ ४४ पैसा र सार्वजनिक महत्त्वका धार्मिक एवं संस्कृतिक संस्थाबाट २४ हजार ६ सय एक रुपियाँ २३ पैसा बक्यौता बाँकी रहेको वितरण केन्द्रले जनाएको छ । 

वितरण केन्द्रका अनुसार गत आर्थिक वर्षमा केही व्यावसायिक ग्राहकहरू कालो सूचीमा परेका छन् । जसबाट १४ लाख २८ हजार ९६ रुपियाँ ९ पैसा बक्यौता रहेको छ । गत आर्थिक वर्षमै वितरण केन्द्रले बक्यौता रकम नबुझाउने एक हजार दुई सय ५० ग्राहकको विद्युत् काटेको जनाएको छ । 

सोमध्ये एक हजार एक सय ८८ ग्राहकले एक करोड सात लाख ७९ हजार एकसय ४६ रुपियाँ १८ पैसा रकम बक्यौदा रकम बुझाएर पुनः विद्युत् जडान गरेको केन्द्रले जनाएको छ ।

विद्युत् वितरण केन्द्रका अनुसार आर्थिक वर्ष २०७९–८० मा जिल्लामा दुई करोड २४ लाख १२ हजार नौ सय ३९ रुपियाँ ७७ पैसा बक्यौता रहेको थियो । सो वर्षमा कालो सूचीमा परेका ग्राहकको बक्यौता १२ लाख तीन हजार आठसय ६२ रुपियाँ रहेको थियो ।