गलकोट (बागलुङ), असोज ५ गते । गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ ।
बागलुङ नगरपालिका-८, सिगानामा सडक माथिबाट खसेको ठुलो पहिरोले सडकसहित एउटा गोठ पुरेको थियो भने एक परिवार विस्थापित भएका छन् । चट्टानसहितको ठुलो पहिरो खसेकाले खुलाउन समय लागेको थियो । आजदेखि सडक सञ्चालन भएसँगै यात्रु गन्तव्यमा लागेका छन् ।
उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’अन्तर्गत बागलुङ बजारबाट सिगानासम्मको १० किमी कालोपत्र भएको थियो । सडक डिभिजन कार्यालय बागलुङले कर्ण विल्र्डसलाई ठेक्कामार्फत सडक कालोपत्र गर्न दिएको थियो ।
कार्यालय र निर्माण व्यवसायीको सहयोगमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिरोका कारण पुरिएको गोठबाट मृत अवस्थामा भैँसी निकालिएको उहाँले बताउनुभयो ।
क्षतिग्रस्त घरबाट सामग्री स्थानान्तरण कार्यमा नगरपालिकाले नगरप्रहरीका साथै डोजर प्रयोग गरेर तत्कालै सहजीकरण गरेको खड्काले उल्लेख गर्नुभयो । उहाँका अनुसार सडक डिभिजन कर्यालयको सहजीकरणमा लगातार पाँचदिन स्काभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । रासस