• ५ असोज २०८२, आइतबार

टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात

blog

काठमाडौँ, असोज ५ गते । बङ्गलादेशले युएईमा जारी एसिसी टी–२० एसिया कप क्रिकेटको सुपर चारमा विजयी सुरुवात गरेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । बङ्गलादेशले श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदलासमेत लिएको छ ।

यसअघि समूह चरणमा बङ्गलादेश श्रीलङ्कासँग ६ विकेटल पराजित भएको थियो । जितका लागि श्रीलङ्काले दिएको एक सय ६९ रनको लक्ष्य पछ्याएको बङ्गलादेशले १९.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । 

बङ्गलादेशका लागि सैफ हसनले सर्वाधिक ६१ रन बनाउनुभयो । यस्तै तोहिद हृदयले ५८, कप्तान लिटन दासले २३ र समिम होसेनले १४ रन जोड्नुभयो । 

बलिङमा श्रीलङ्काका वानिन्दु हसरङ्गा र दशुन शनकाले दुई दुई तथा नुवान थुसारा र दुस्मन्था चमिराले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो ।

श्रीलङ्काका लागि दशुन शनकाले अविजित ६४ रन बनाउनुभयो । यस्तै कुसल मेन्डिसले ३४, पथुम निसन्काले २२, कप्तान चरिथ अस्लङ्काले २१ रन बनाउनुभयो । 

बलिङमा बङ्गलादेशका मुस्तफिजुर रहमानले तीन विकेट लिनुभयो । मेहदी हसनले दुई तथा तास्किन अहमदले एक विकेट झार्नुभयो । सुपर चार अन्तर्गत आइतबार राति भारत र पाकिस्तानबिच प्रतिस्पर्धा हुने छ । एजेन्सी