• ५ असोज २०८२, आइतबार

टेलिकमको कार्यालयमा चोरी

blog

नेपालगन्जमा रहेको नेपाल टेलिकमको कार्यालय ।

गोविन्द शर्मा

बाँके, असोज ५ गते । नेपालगन्जको चोक–चोकमा चोरहरूको बिगबिगी बढिरहँदा सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् । 

जिल्ला प्रशासन कार्यालयसँग जोडिएको नेपाल टेलिकमको नेपालगन्जस्थित उप–प्रादेशिक कार्यालयमा केबलको तार चोरी भएको छ । चोरीमा संलग्न एक जनालाई शनिबार राति स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।  

नेपाल टेलिकम उप–प्रादेशिक कार्यालय नेपालगन्जका सूचना अधिकारी मुक्ति ज्ञवालीले कार्यालयको परिसरभित्र राखिएको करिब ४३ लाख मूल्यको केवल चोरी भएको जानकारी दिनुभयो । 

सूचना अधिकारी ज्ञवालीले भन्नुभयो, “टेलिकमले नयाँ केवल जडान गरेको स्थानबाट ल्याएर राखिएका पुराना केबल तार चोरी भएको छ, कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित जानकारी गराइएको छ । 

केवलभित्र रहेको तामाको तार चोरी भएको टेलिकमले जनाएको छ । शनिबार प्रहरीले पक्राउ गरेका व्यक्ति कोहलपुरका अमिर खान भएको टेलिकमले जनाएको छ । खानसहित केही व्यक्तिहरू शरीरमा चिप्लो पदार्थ घसेर आएको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले जनाएका छन् ।