केशव राज भट्ट
वाशुलिङ (बैतडी) असोज ५ गते । बैतडीको शिवनाथ गाउँपालिका–५, बिनपत्याका ४० वर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ ।
मकैको थुप्रो (ट्वा) बनाउनका लागि काठ (लुट्याठ) काट्ने क्रममा गत भदौ २२ गते दयाललाई अरिङ्गालले टोकेको आफन्त सुरतकुमार पार्कीले जानकारी दिनुभयो । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका दयाललाई उपचारका लागि भदौ २३ गते सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उहाँलाई घर ल्याइएको पार्कीले बताउनुभयो । शनिबार उहाँको घरमै निधन भएको परिवारले जनाइएको छ । मृतक दयालको श्रीमती, एक छोरा र एक छोरी रहेका हुनुहुन्छ ।