राजन रावत
हुम्ला, असोज ५ गते । कृषि विकास कार्यालयद्वारा गुणस्तरीय कार्टुन वितरण कार्य सुरु गरिएको छ । हुम्लामा उत्पादन भएका स्याउ सुरक्षित रुपले गन्तव्यसम्म ढुवानी गर्नका लागि किसानलाई बानी पार्न र प्रोत्साहन गर्न कार्टुन वितरण गर्ने कार्य गरिएको हो ।
सुरक्षित रुपमा आफ्नो गन्तव्यसम्म स्याउ ढुवानी गर्न सहज होस भन्नका लागि गुणस्तरीय कार्टुन जिल्ला बाहिर अर्डर गरेर ल्याई किसानलाई वितरण सुरु गरिएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनुभयो । हुम्लामा स्याउ पाक्ने समय सुरु हुन थालेपछि समय मै कार्टुन जिल्लामा आई पुगेकाले वितरण पनि सुरु गरिएको उहाँले बताउनुभयो । यो कार्टुनमा स्याउका दाना प्याक गरेपछि पुर्याउनु पर्ने स्थानसम्म सुरक्षित पुग्ने बताउदै उहाँले किसानलाई कार्टुन दिने समयमा प्याक गर्ने तरिका पनि सिकाउने गरिएको बताउनुभयो ।
साढे छ सय ग्रामको कार्टुन निःशुल्क दिने गरिएको भए पनि प्रति कार्टुन २५ रुपियाँ भने राजस्व असुल गर्ने गरिएको छ । १० देखि १२ केजी स्याउ अट्ने कार्टुनको छपाईका लागि प्रति कार्टुन ६२ रुपियाँ र ३० रुपियाँ ढुवानी गरी ९२ रुपियाँमा कार्टुन हुम्ला आइपुगेको हो । कार्टुनमा स्याउको जात, ग्रेड, तौल र उत्पादक किसानको नाम राखिएको छ । किसानले आफ्नो आवश्यकता अनुसार यी कार्टुन कार्यालयबाट लिन पाउने उहाँले बताउनुभयो ।
यसवर्ष एक हजार पाँच सय थान कार्टुन छपाई गरेर कार्यालयले ल्याएको छ । यी कार्टुन तयार गर्न कार्यालयले दुई लाख बजेट खर्च गरेको छ । यो राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत तयार पारी किसानलाई वितरण गर्न सुरु गरिएको हो । बिक्रीका लागि हुम्लाका स्याउ पनि सुर्खेत, नेपालगन्ज, पोखरा, काठमाडौँ, भैरहवा र दिल्लीसम्म पुग्ने गर्छ । डेढ सय बोट स्याउ फलाउदै आउनु भएको सिमकोट गाउँपालिका– २ किसान गोरासिंह बोहराले किसानले फलाएका स्याउ सुरक्षित ढुवानी गर्न कार्यालयको यो काम सहयोगी भएको बताउनुभयो ।