चौमाला समाचारदाता
चौमाला (कैलाली), असोज ५ गते । दसैँ नजिकिँदै गर्दा रोजगारीका लागि भारत गएका परदेशी घर फर्किन थालेका छन् । स्वदेशमा रोजगारी नपाएपछि गुजारा चलाउन भारतका विभिन्न सहरबजारमा मजदुरी गर्दै आएका नेपाली घर फर्किन लागेका हुन् ।
जेनजी आन्दोलनका कारण एक हप्ता बन्द रहेको कैलालीको त्रिनगर भन्सार नाका खुलेसँगै भारतमा काम गर्दै आएका मजदुर स्वदेश फर्किन लागेको लर्को देखिएको छ ।
गुजारा चलाउनका लागि छिमेकी मुलुक भारत गएका सुदूरपश्चिमसहित नेपाली मजदुर अहिले झोलीझिम्टी बोकेर स्वदेश फर्किएका छन् । सुदूरपश्चिमको प्रमुख नाका कैलालीको त्रिनगर भन्सार नाकामा यतिबेला दसैँतिहार मनाउन घर आउने परदेशीको लर्काे देखिन्छ । अछामको बान्नीगढीजयगढ गाउँपालिकाका पूर्णबहादुर वडले परिवारसहित दसैँ मनाउन घर आएको बताउनुभयो ।
उहाँ दुई वर्षपहिले बालबच्चा र श्रीमतीसहित रोजगारीका लागि भारत गएको बताउनुभयो । नेपालीको सबैभन्दा ठुलो पर्व दसैँ नजिकिएसँगै उहाँ जस्तै रोजगारीका लागि भारत गएका नेपाली परिवारसहित घर फर्किरहेका छन् ।
रोजीरोटीका लागि भारतको पुणे सहर गएकाका डोटीका खड्कबहादुर साँहुले दसैँको उमङ्ग लिएर घर फर्किएको बताउनुभयो । उहाँले दसैँतिहार मनाएर फेरि भारतमै फर्किने उहाँको भनाइ छ । सुदूरपश्चिमका पहाडी जिल्लाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या ठुलो छ ।
पहाडी जिल्लाका ग्रामीण बस्तीबाट अधिकांश मानिस कमाइका लागि भारत जाने गरेका छन् । दसैँतिहार जस्ता पर्व मनाउन यतिबेला परदेशी घर फर्किंदा सीमा क्षेत्र त्रिनगर नाकामा घुइँचो नै लाग्छ । दसैँतिहार मनाउन आएका परदेशीका कारण गाउँघरमा दसैँको रौनक छाएको छ । अहिले फर्किएका नेपाली खेतीपाती लगाएर भारत जाने र दसैँतिहारमा घर फर्किने गर्छन् ।