• ५ असोज २०८२, आइतबार

भालुको आक्रमणबाट दुई जना घाइते

blog

नौरते नेपाली
सिँजा (जुम्ला), असोज ५ गते ।
जुम्लाको हिमा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिमा गाउँपालिका –५ बाझगाडको भित्र वन भन्ने ठाउँमा गाईबस्तु चराउने क्रममा भालुको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

भालुको आक्रमणमा परि हिमा –५ का ३० वर्षीय हरिचन्द्र रोकाया गम्भीर घाइते हुनु भएको छ भने उक्त गाउँकै ३५ वर्षीया गणेश रोकाया सामान्य घाइते भएको स्थानीय बासी दलबिर रोकायाले बताउनुभयो । उहाँका अनुसार, अहिले रोकायालाई प्राथमिक उपचारपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा ल्याइएको बताउनुभयो ।

गणेश रोकायाको भने स्थानीय स्तरमै उपचार भइरहेको रोकायाको भनाइ छ । स्थानीयवासीका अनुसार बुधबार बिहान गाईबस्तु चराउँदै गर्दा अचानक भालुले आक्रमण गरेको हो । आक्रमणको क्रममा गाई गोरु र भेडालाई पनि मारेको स्थानीयले बताएका छन् ।

घटनापछि गाउँमा त्रास फैलिएको छ । वन क्षेत्र नजिकै गाउँ भएकाले यस्ता घटना बढिरहेको भन्दै स्थानीयले तत्काल नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।