सुर्खेत समाचारदाता
सुर्खेत, असोज ५ गते । यहाँको लेकबेँसी नगरपालिकाले आफ्नो आन्तरिक आम्दानी घट्दै गएकाले अबदेखि आफ्ना सम्पूर्ण सरकारी सवारीसाधन कार्यालयमै राख्ने र ती गाडीलाई कार्यालयको कामकाज प्रयोजनका लागि मात्र प्रयोग गर्न निर्देशन दिइएको छ ।
नगरपालिकाले गत बिहीबार एक सूचना जारी गरी यही असोज महिनादेखि लागु हुने गरी सरकारी सवारीसाधन आफूखुसी घर लैजान, व्यक्तिगत काममा प्रयोग नगर्न र पालिकाको कामकाजमा मात्र प्रयोग गर्न निर्देशन दिएको हो ।
नगरप्रमुख उमेशकुमार पौडेलले जारी गरेको निर्देशनात्मक आदेशमा नगरपालिकाको आन्तरिक आम्दानीले हालको चालु खर्च धान्न नसकेको उल्लेख गर्दै जनचाहना अनुसार सरकारी खर्चलाई मितव्ययी बनाउन यस्तो व्यवस्था लागु गरिएको उल्लेख छ । आदेशमा “जनचाहना अनुसार स्थानीय सरकार मितव्ययी बन्नुपर्ने अवस्था आएको छ, यसैले असोजदेखि लागु हुने गरी सम्पूर्ण सरकारी सवारीसाधन कार्यालयमै राखी लगबुकमा दर्ता गरी कार्यालय प्रयोजनमा प्रयोग गर्ने व्यवस्था लागु गरिएको छ ।”
नगरपालिकाको यस कदमले अनावश्यक खर्च रोकथाम हुने, पारदर्शिता बढ्ने र सरकारी स्रोतको सदुपयोग हुने नगरप्रमुख उमेशकुमार पौडेलले बताउनुभयो । विगतमा आफूखुसी नयाँ मोटरसाइकल खरिद गर्ने र मर्मतसम्भार गर्ने प्रवृत्ति बढेको हुँदा त्यस्तो कार्यलाई नियन्त्रण गर्न यो उपाय अपनाइएको उहाँको भनाइ छ । नगरपालिकामा अहिले दुई वटा गाडी र ४० वटा मोटरसाइकल रहेका छन् । मोटरसाइकल मर्मतका नाममा अस्वभाविक बिल आउने गरेको हुँदा यो निर्णयले त्यस्तो काममा निरुत्साहित हुने उहाँले बताउनुभयो ।