अर्घाखाँची समाचारदाता
अर्घाखाँची, असोज ५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची जिल्लास्थित सरकारी कार्यालय तथा विभिन्न राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्नुभएको छ ।
शनिबार गृहजिल्ला अर्घाखाँची आइपुग्नुभएका मुख्यमन्त्री आचार्यले भग्नावशेष बनेका संरचनाको स्थलगत अनुगमन गर्नुभयो । भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा अर्घाखाँचीमा जिल्ला समन्वय समिति, सन्धिखर्क नगरपालिका, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका कार्यालयमा आगजनी भएको थियो ।
सरकारी कार्यालयको सेवा प्रवाह तत्काल सञ्चालन गर्ने विषयमा समेत मुख्यमन्त्री आचार्यले छलफल गर्नुभयो । उहाँले भन्नुभयो, “अस्थायी संरचना होस् या त्रिपाल टाँगेर भए पनि जनताको काम सुरु गर्नु पर्छ । सबैसँग समन्वय र सहकार्य गरेर सेवा प्रवाहमा जुट्नै पर्छ ।”
मुख्यमन्त्री आचार्यले आन्दोलनका क्रममा केही अराजक समूहले सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगजनी गरेको बताउनुभयो । उहाँले विषम परिस्थितिमा दलहरूबिच झन् सहकार्य, एकता र संयमता आवश्यक रहेको बताउनुभयो ।
जेनजी आन्दोलनका नाममा घुसपैठ भई सरकारी, सामाजिक तथा राजनीतिक सङ्घ–संस्था र व्यक्तिगत संरचनामा क्षति पु¥याउने कार्य भएको र ती घटनाको अनुसन्धान गरी दोषी पहिचान गरेर कानुनी दायरामा ल्याउन सरोकारवाला पक्षले माग गरेका थिए । त्यस क्रममा मुख्यमन्त्री आचार्यले घटनाको सबै पक्ष र तहबाट सुरक्षा निकायले अनुसन्धान गरिरहेको बताउनुभएको थियो ।
आन्दोलनका क्रममा मुख्यमन्त्री आचार्यको सन्धिखर्कस्थित घरमा समेत आगजनी गरिएको थियो । जसबाट घरमा पूर्ण रूपमा क्षति पुगेको छ ।