तिलाचन पाण्डे
तम्घास(गुल्मी), असोज ५ गते । गुल्मीमा दशैँ तिहार तथा चाडपर्व लक्षित सडक मर्मत गर्ने कार्य धमाधम थालिएको छ । जिल्लामा दुई नगर र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा नेपालीहरुको महान पर्व दशैँ तिहारलाई लक्षित गर्दै सडक मर्मत गर्न थालिएको स्थानीय तहहरुले जनाएका छन् ।
कालीगण्डकी गाउँपालिका गुल्मीका उपाध्यक्ष मञ्जुकुमारी दर्लामीले पालिका भित्रका सात वटै वडाका ग्रामीण सडकका पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्य अगाडि बढाएको बताउनुभयो । विदेश तथा देशका शहरहरुबाट दशैँ मनाउनका लागि गाउँमा आउँदा सडकका कारण कुनै समस्या नहोस भनेर चाडपर्व लक्षित सडक मर्मत गर्न थालिएको उहाँले बताउनुभयो ।
मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालका अनुसार चाडपर्व लक्षित सडक मर्मतका लागि केही दिन पहिले बसेको कार्यपालिका बैठकले वडालाई जिम्मा दिएको बताउनुभयो । देश तथा विदेशबाट दशैँ तिहारजस्ता महत्त्वपूर्ण पर्वहरु मनाउन गाउँ आउँदा सडकका कारण कुनै समस्या नहुने बताउनुभयो । पालिकाले वर्षायामको समयमा नियमित सडक सञ्चालनका लागि सडक मर्मत सम्भारकर्ता (लेन्थ वर्कर) राखेकाले सडकमा खासै समस्या नरहेको उहाँले बताउनुभयो ।
सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेले ग्रामीणस्तरका सडक मर्मतको कार्य पालिकामार्फत नै भइरहेको बताउनुभयो । दशैँ तिहार पर्व मनाउन गाउँ आउनेहरुका लागि सडकका कारण कुनै समस्या नहुने गरी पालिकाले कार्य अगाडि बढाएको उहाँको दाबी छ ।
मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल (जीवन) ले वर्षा भर्खरै मात्रै रोकिएकाले एक दुई दिन भित्रैमा वडामार्फत सडक मर्मत तथा पहिरो पन्छाउने कार्यको सुरुवात गर्ने बताउनुभयो । पालिकामा रहेको जेसिवी भैपरी आउनेमा मात्रै प्रयोग हुने भएकाले पहिरो पन्छाउने र सडक मर्मत गर्ने कार्य वडाबाटै हुने उहाँको भनाइ छ ।