तनहुँ समाचारदाता
तनहुँ, असोज ५ गते । केही दिनअघि भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर ऐतिहासिक तथा पर्यटकीय नगरी बन्दीपुरमा परेको छ । आन्दोलनपछि विदेशी तथा स्वदेशी पर्यटक आउन छाडेकाले असर परेको हो । ‘पहाडकी रानी’ भनेर चिनिने बन्दीपुर अहिले सुनसान बनेको छ ।
बन्दीपुरका होटेल, रेस्टुरेन्ट, होमस्टे र हस्तकला पसलमा एकाएक सुनसान देखिएपछि पर्यटन व्यवसायी निराश बनेका छन् । बन्दीपुर भ्रमण वर्ष–२०२५ का संयोजक बैस गुरुङले भन्नुभयो, “दैनिक जसो आउने विदेशी र स्वदेशी पर्यटक जेनजी आन्दोलन पछि हराए जस्तै भएका छन् । आन्दोलनले गर्दा होटेल बुकिङ शून्यमा झरेको छ ।”
नयाँ सरकार गठन भइसकेको र विमानस्थल, सवारीसाधन खुल्न थालेकाले लयमा आउने अपेक्षा गरिए पनि पर्यटक आउने क्रम सुरु हुन नसकेको उहाँले बताउनुभयो । आन्दोलनका क्रममा बन्दीपुरमा भौतिक क्षति भने नभएको र शान्त अवस्थामै बन्दीपुर रहेको गुरुङले बताउनुभयो ।
बन्दीपुर, पहाडी बस्तीको ऐतिहासिक बजार, पुराना घर आवास, सांस्कृतिक परम्परा र प्राकृतिक सौन्दर्य आदिले नेपालका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । यहाँको होमस्टे, हस्तकला, स्थानीय खानपान, पदमार्ग र सांस्कृतिक पर्व उत्सवले आगन्तुकलाई मौलिक अनुभव दिने गर्दछ । हातैले छोए जस्तो लाग्ने हिमशृङ्खला, दक्षिण एसियाकै ठुलो सिद्ध गुफा, भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, प्याराग्लाइडिङलगायतले पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।
२०२५ सालमा तनहुँको सदरमुकाम बन्दीपुरबाट दमौलीमा स्थानान्तरण भएपछि सुनसान बनेको बन्दीपुर पर्यटनका माध्यमबाट चहलपहल बढ्न पुगेको थियो । पर्यटन व्यवसायी सन्तकुमार श्रेष्ठले पहिलो पटक बन्दीपुरमा बन्दीपुर माउन्टेन रिसोर्ट सञ्चालन ल्याएपछि पर्यटकीय क्षेत्रका रूपमा विकास हुन मद्दत पुगेको बन्दीपुर क्याम्पसका सहायक प्रमुख गोवर्धन भट्टराईले जानकारी दिनुभयो । काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रको बिचमा बन्दीपुर छ । पोखरादेखि ७४ किलोमिटर र काठमाडौँदेखि १४२ किलोमिटरको दुरीमा बन्दीपुर छ ।