• ५ असोज २०८२, आइतबार

सप्तरीमा फिर्ता हुँदै लुटिएको सामान

blog

प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल । तस्बिर : सुधा देव

सुधा देव
भारदह(सप्तरी), असोज ५ गते ।
जेनजीको आन्दोलनमा जिल्लाको विभिन्न कार्यालयमा लुटिएको सामान फिर्ता हुने क्रम जारी छ । राजविराज नगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा, खड्क नगरपालिका, सप्तरी जिल्ला अदालत, डिभिजन वन कार्यालय लगायतले सूचना जारी गर्दै लुटिएको सामान फिर्ता दिन आग्रह गरेपछि केही सामान फिर्ता हुन लागेको हो ।

लुटिएको सामान कुन कार्यालयको हो ? यकिन भए त्यहीँ कार्यालयमा र नभए जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको अनुरूप बुझाउने क्रम जारी रहेको सप्तरीका जिल्ला अधिकारी टुवराज पोख्रेलले जानकारी दिनुभयो ।

जिल्लामा आगलागी, तोडफोडमा लुटपाटमा अर्बौंको क्षति भएको बेला एकदमै न्यून सामान फिर्ता भएको र हुने क्रम जारी रहेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभएको, ‘‘लुटपाट जुन कार्यालयमा भएको हो । त्यही कार्यालयमा पुर्याउने र थाहा नभएको मात्र यस कार्यालयमा आउने भएकाले के–के र कति फिर्ता भयो अहिले भन्ने अवस्था नभए पनि जिल्लामा अर्बौं÷ खर्बौको क्षति भएको उहाँले बताउनुभयो ।

गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान तथा कार्यालयहरुमा तोडफोड, आगजनी जस्ता आपराधिक गतिविधिहरु भएको र सोही अवसर पारी केही व्यक्तिहरुले कार्यालयका जिन्सी सामान, नगद रकम लगायतका सार्वजनिक सम्पत्ति लुटपाट र चोरी गरी घरसम्म लगेका प्रमाणहरु सिसिटिभी फुटेज, टिकटक, फेसबुक लगायत अन्य सञ्चार माध्यममा समेत स्पष्ट देखिएकाले फिर्ता गरिदिनुहुन सम्बन्धित निकायले सूचना जारी गरेको थियो ।

यसैबिच उच्च अदालत जनकपुर राजविराज इजलासका रजिस्ट्रार लोकनाथ पराजुलीले यस अदालतबाट लुटिएको मध्ये एउटा कुर्सी फिर्ता आएको बताउनुभयो । लुटपाट गरेको सामग्री सात दिनसम्म फिर्ता नगरे कानुन बमोजिम कारबाही हुने बताइएको छ ।