जुम्ला समाचारदाता
जुम्ला, असोज ५ गते । पर्यटकको मुख्य गन्तव्य रहेको नेपाली भाषाको उद्गमस्थल सिँजा र रारा जाने बाटोमा बजेट अभावले स्तरवृद्धि हुन सकेको छैन । यस सडकमा आउने बजेट योजना अनुसारको पर्याप्त विनियोजन नहुँदा स्तरवृद्धि हुन नसकेको हो । नाग्मदेखि गमगढी क्षेत्रको ९३ किलोमिटरमा आर्थिक वर्ष २०८०/८१ मा छ किलोमिटर कालोपत्रे भए पनि बजेट अभावका कारण आव २०८१/८२ मा कालोपत्रे तथा स्तरवृद्धि हुन सकेन ।
सडक स्तरवृद्धि हुन नसकेका कारण रारा तथा सिँजामा जाने पर्यटकले सास्ती भोगेका छ्न । उक्त सडक बर्खा समयमा हिलो र हिउँदे सिजनमा धुलो हुने भएकाले यात्रुलाई समस्या भएको हो । सडक डिभिजन कार्यालय जुम्लाले बजेट अभावका कारण गत वर्ष नाग्म–गमगढी राजमार्ग कालोपत्रे अगाडि बढाउन नसकिएको बताएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर सौरभकुमार सिंहले गत वर्ष बजेट अभावका कारण कालोपत्रेको कामलाई अगाडि बढाउन नसकिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष पनि बजेट कम विनियोजन भएको छ । पहिले कनकासुन्दरी गाउँपालिकाको पाण्डव गुफा क्षेत्रदेखि हाट सिँजासम्म छ किलोमिटर कालोपत्रे गरिएको छ । पछिल्लो पटक बनाउनुपर्ने सडक क्षेत्र बढी तर बजेट कम भएका कारण कालोपत्रेसहितका काम गर्न नसकिएको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालयका अनुसार यस पटक पनि सरकारले यस सडकका लागि २५ करोड रुपियाँ बजेट विनियोजन गरेको छ तर यो बजेट कालीकोटको रताडा, गाल्जे, नाग्म गमगढी र नाक्चे लाग्नासम्म खर्च गर्नुपर्ने छ । सडक डिभिजन कार्यालय जुम्लाले यस क्षेत्रमा कालोपत्रे गर्ने योजना बनाइरहे पनि बजेट अभावले हैरान बनाएको छ । बाटो स्तरवृद्धि नहुँदा राराताल घुम्न आएका पर्यटक फर्किंदा बिरामी भएर गएको घटना दोहोरिरहेका छन् । पर्यटक सुशीला चौधरीले रारा र सिँजा जस्तो ठाउँमा जाने बाटो अहिलेसम्म राम्रो नबन्दा दुःख लागेको बताउनुभयो ।