राजगद्दी खालि भयो । नयाँ राजा चुन्नुपर्ने भयो । राजा चुन्ने क्षमता कोहीसँग थिएन । अकस्मात् कसैले उपाय सुल्झायो । लावण्य देशमा त हात्तीले राजा चुनेको थियो ।
राजा चुन्न हात्ती ल्याइयो । राजा हुन काला, गोरा, सेता, नीला, पहेँला उम्मेदवारहरू लाममा खडा थिए ।
राजा छानेको दृश्य हेर्ने दर्शकहरूको घुइँचो थियो । दर्शकमा छेपाराहरू पनि थिए । छेपाराहरूको अनुमान थियो– हात्तीले पक्कै सेतोलाई राजा छान्छ । त्यसैले छेपाराहरू पनि सेतो रङमा लामबद्ध भएर बसेका थिए ।
हात्तीलाई राजा छान्ने आदेश दिइयो । हात्ती आँखा देख्दैनथ्यो । त्यसैले उसले सुँडले छामेर राजा छान्नुपर्ने थियो ।
छेपाराहरूको अनुमानविपरीत हात्तीले उम्मेदवारमध्येबाट कालोलाई आफ्नो सुँडले उचालेर राजा घोषित गरिदियो ।
कालो राजा घोषित हुनासाथ सेता छेपाराहरू तत्कालै रङ बदलेर कालै भए । उनीहरू दर्शक दीर्घाबाट अगाडि सर्दै नवघोषित राजाको अगाडि झुम्मिएर भन्ने थाले– “हेर्नुस् त महाराज ! हाम्रो रङ पनि कालै छ । महाराज पनि कालो हामी पनि कालो ।” राजाले जुँघाको ताउ मिलाउँदै छेपारातिर हे¥यो ।
राजाको गद्दीरोहण भयो । छेपाराहरूले दाम राखेर स्वस्ती गरे । तत्कालै राजालाई रथारोहण गराएर सहर परिक्रमा गराइने भयो ।
राजा सवार रथ अगाडि बढ्यो । छेपाराहरू तँछाड मछाड गरेर राजाको नजिक हुन तम्सिरहेका थिए । छेपाराहरू रथतिर जतिजति अगाडि बढ्थे उतिउति धमाधम रथको पाङ्ग्रामुनि परेर घुनझैँ पिसिँदै थिए । नवरङ्गधारी छेपाराहरू इहलीला समाप्त गर्दै थिए । रथमा सवार राजालाई यसको कुनै मतलब थिएन ।
पुराना छेपाराहरू एकपछि अर्को गरी मर्दै थिए, तर संसारमा नयाँ छेपाराहरू जन्मने क्रम भने रोकिएन ।