रुसले युक्रेनमाथि युद्ध छेडेको चार महिना भयो । त्यो युद्धका कारण प्रत्यक्ष रुने लाखौँ युक्रेनी छन्, हजारौँ रुसी पनि छन् । युद्धमा युक्रेनी मात्र होइन, धेरै रुसी पनि मारिएका छन् । आफन्त र प्रियजनको मृत्युको पीडा नहुने को नै पो होला र ? यहाँ युक्रेनी र रुसीको मृत्यु, पीडा र रुवाइ प्रत्यक्ष हो । त्यही विभीषिकाका अप्रत्यक्ष रुने संसारभरि धेरै छन् । आखिर कसैको मन ढुङ्गाको हुँदैन ।
रुसका हालका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१२ मार्चमा आफू प्रधानमन्त्री निर्वाचित भएपछि लाखौँ समर्थकलाई सम्बोधन गर्दा क्रेमलिन अगाडिको आमसभामा आँसु खसालेका थिए । उनका आँसुबारे रुसका तत्कालीन विपक्षी नेता अलेक्जेई नाभाल्नीले ‘मस्को आँसुमा विश्वास गर्दैन’ भनी आलोचना गरेका थिए । अहिले ती विपक्षी नेताले भनेको साँच्चै मिलेको छ, ‘मस्को आँसुमा विश्वास गर्दैन ।’ अर्थात् रुस–युक्रेन युद्धमा बगेका आँसुको नदी थामिने सङ्केत छैन । त्यो युद्धका ‘नायक’ तिनै पुटिन हुन् । युद्धका कारण उनी तानासाह कहलिन थालेका छन् ।
सन् २०१२ मा अमेरिकाको कनेक्टिकटमा स्यान्डी हुक विद्यालयका बन्दुकधारीले २० जना बालबालिकाको हत्या गरेपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाले आँसु खसाल्दै सम्बोधन गरी अमेरिकाका बन्दुक नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका थिए । उनको प्रतिबद्धताअनुसार नै डेमोक्रेटिक पार्टीका उत्तराधिकारी वर्तमान राष्ट्रपति जो वाइडेनले २०२२ जुन २५ मा अमेरिकामा बन्दुक नियन्त्रणसम्बन्धी कानुनमा हस्ताक्षर गरेका छन् । वाइडेनको यो कदम स्यान्डी हुकको घटनालाई समेत पछि पार्ने गरी २०२२ मे २४ मा भएको बन्दुकधारीबाटै बालबालिका मारिएको अर्को घटनापछिको हो । बाराक ओबामाको आँसुले सार्थकता पाएको क्षण बन्दुक नियन्त्रणसम्बन्धी कानुन थियो ।
संसारकै सबैभन्दा क्रुर तानासाह एडोल्फ हिटलरलाई मानिन्छ । सन् १९३३ देखि सन् १९४५ सम्म हिटलर र जर्मन नाजीले गरेको आम नरसंहारबाट करोडको सङ्ख्यामा मानिस मारिएका थिए । तिनमा एक करोड त बालबालिका नै रहेको अनुमान गरिएको छ । भनिन्छ हिटलर क्रुरतामा खुसी हुन्थे ।
हिटलरको मुख खोलेर विरोध गर्ने वा अभिनय गर्नसमेत हिम्मत गर्ने कोही थिएन । १०० भन्दा बढी मौन चलचित्र बनाएका मूक हास्य अभिनेता चार्ली च्याप्लिनले भने दोस्रो विश्वयुद्ध चलिरहेको बेला तिनै हिटलरलाई मुख्य पात्र बनाएर सन् १९४० चलचित्र बनाए दि ग्रेट डिक्टेटर । दि ग्रेट डिक्टेटरमा हिटलरको तानाशाहीको कथा छ । त्यससँगै हिटलरको काल्पनिक रुवाइ पनि छ । उनको रुवाइ बेलुनको विश्व मानचित्र (ग्लोब) उनी आफैँले खेलाउँदा खेलाउँदै फुटेपछि देखाइएको छ । त्यो प्रतीकात्मक रुवाइको अर्थ जसरी पनि लगाउन सकिन्छ ।
एक पटक त त्यसले युरोपमा युद्ध अरू चर्किन सक्ने र चलचित्रमाथि पनि प्रतिबन्ध लाग्न सक्ने ठानेर एक पटक त च्यापलिनले चलचित्र बनाउने निर्णय नै त्यागेका थिए । अमेरिका प्रत्यक्ष रूपमा युद्धमा थिएन । त्यसबेलाका अमेरिकाका राष्ट्रपति फ्रेङ्कलिन डी. रुजवेल्टले च्यापलिनलाई चलचित्र बनाउन सुझाव दिए । उनले आफ्ना युरोपेली मित्रशक्तिहरूलाई त्यो चलचित्रमाथि प्रतिबन्ध नलगाउन आफूले पहल गर्ने वचन पनि दिएका थिए । अर्थात् रुजवेल्ट हिटलर हारेको र रोएको देख्न चाहन्थे । संसारले काल्पनिक नै सही हिटलर रोएको देख्यो ।
चलचित्र बन्दा हिटलरले सुरक्षित बङ्करमा आफ्नै बन्दुक प्रहार गरी आत्महत्या (१९४५ अप्रिल ३० मा) गरिसकेका थिएनन् । उनले दि ग्रेट डिक्टेटरको प्रतिलिपि बनाउन लगाएर निजी चलचित्रशालामा एक होइन, दुई पटक आफू रोएको चलचित्र हेरेका थिए । यसबेला हिटलर साँच्चै रोए कि रोएनन्, थाहा छैन तर जीवनका विभिन्न कालखण्डमा उनी रोएका प्रसङ्ग छन् ।
सन् २०१५ डिसेम्बर १५ मा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडोले सत्य तथा मेलमिलाप आयोग (ट्रुथ एन्ड रिकन्सिलिएन कमिसन) को अन्तिम प्रतिवेदन सार्वजनिक गर्दा अर्कोतिर फर्केर आँसु पुछेका थिए । प्रतिवेदन विद्यालय शिक्षामा भएको भेदभावसम्बन्धी थियो ।
संसारमा राजनेता रोएका अरू पनि थुप्रै घटना छन् । राज्य तथा जनताका प्रायः सबै कुरा गुपचुप राख्ने उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन पनि पिता किम इल सुङको सन् २०११ डिसेम्बरमा भएको निधनमा रोएको तस्बिर सार्वजनिक भएको थियो । रिपब्लिकन पार्टीबाट अमेरिकामा राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुस सन् २००८ अप्रिल ८ मा जलसेनाका अधिकारीलाई पदक प्रदान गर्ने समारोहमा रोएका थिए ।
अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेनले सन् २००८ मा भएको निर्वाचनका क्रममा आफ्ना छोराले उपराष्ट्रपति पदका लागि डेमोक्रेटिक सम्मेलनमा दिएको चिनारी भाषणपछि दर्शकबाट छलिँदै आँसु पुछेका थिए । सन् २०१४ जुन १४ मा आयोजित एक पत्रकार सम्मेलनमा नै म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सु ची रोएकी थिइन् ।
नेपालमा पनि राजनीतिकर्मीका रुवाइका उदाहरण छन् । प्रधानमन्त्री तथा श्री ३ महाराज पद्मशमशेर अति रुन्थे । त्यसैले उनलाई रुन्चे महाराज भनेर चिनिन्थ्यो । मोहनशमशेरले यिनलाई भारत पलायन हुन बाध्य तुल्याए र राँची जानुप¥यो । वि.सं. २००४ फागुन १८ गते काठमाडौँ छाडेर भारत जान लाग्दा घाँटीमा रुद्राक्षको माला र भगवान् रामको फोटो झुन्ड्याई सिंहदरबारबाट निस्किए । सिंहदरबारबाट निस्किँदा उनी धुरुधुरु रोएका थिए ।
सबै उदाहरणको निष्कर्ष हुन्छ– नेताहरू पनि रुन्छन् र रुनलाई कुनै पूर्वतयारी चाहिँदैन । विषय र प्रसङ्ग नेपाली राजनीतिकर्मीको रुवाइबाट नै आएको हो । रामकुमारी झाँक्रीलाई उनको दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री पदबाट हटाउने निर्णय गरेपछि हिजो २०७९ असार १२ गते सहरी विकास मन्त्रालयमा नै पत्रकार सम्मेलनमा रोएको दृश्य र त्यसपछिका प्रतिक्रयाले रुवाइको पक्ष वा विपक्षमा अभिमत सिर्जना गर्दै छ । रामकुमारीलाई पनि पद्मशमशेरले जस्तै पद (सिंहदरबार) छाड्नु परेकोमा रुने पदलोलुप नै प्रमाणित गर्ने तर्क गर्ने सामाजिक सञ्जालमा निकै छन् ।
रुवाइ स्वाभाविक मानवीय गुण हो र त्यो रामकुमारीमा अलि बढी सक्रिय भएको भन्ने तर्क पनि कम छैनन् । यी तर्कमा कुनमा कति सत्यता छ भन्ने कुरा स्वयं रामकुमारीले मात्र भन्न सक्ने हो । रामकुमारीको हाँसोको पनि आलोचना छ । अहिले भने रुवाइकै सन्दर्भमा समाज, कम्तीमा पनि सामाजिक सञ्जाल विभाजित छ ।
झाँक्रीको रुवाइ यो नै पहिलो होइन । यसअघि पनि टेलिभिजन कार्यक्रममा झाँक्री रोएको दृश्य पटकपटक प्रसारण भएका थिए । त्यस्तैमा रोएर मन जित्न सकिन्छ भन्ने रुवाइबारेकै प्रश्नमा झाँक्रीको आफ्नै प्रश्न थियो, “आँसु पनि स्ट्राटेजिक हुन्छ र ? नचाहिने कुरा सोध्नुहुन्छ तपाईं ।”
झाँक्रीको थप स्पष्टीकरण थियो, “प्रभावित नै पार्न खोज्ने गरी रुने हो भने भिक्स वा आँखामा पानी हालेर रोइन्छ । एकैछिन दर्शकलाई प्रभावित पार्ने गरी त्यस्तो रुवाइ गरिन्छ तर म फ्यासफ्यास्ती रोइरहेकी छु हगि ! यो मेरो विकनेस (कमजोरी) हो ।”झाँक्रीले भनेजस्तै रुवाइ साँच्चिकै मानवीय कमजोरी हो त ? त्यसो हो भने कहिल्यै नरुने हिटलर चाहिँ साँच्चिकै मानवीय गुण भएका थिए त ? माथि उल्लेख गरिएका नेताका रुवाइका प्रसङ्ग सबै कमजोरी प्रदर्शन गर्ने वा लुकाउने थिए त ? प्रश्न यसरी पनि गर्न सकिन्छ ।
यिनको जवाफ हुन्छ– त्यसो होइन, बरु रुवाइ मानवीय भावना हो, मनोवेग हो । रुवाइ मानवको जीवन हो । एकछिन कल्पना गर्नोस् त, भर्खर जन्मेको नवजात शिशु रोएन भने के हुन्छ ? अनि कुनै मान्छे मरेको बेलामा उसका निकटका आँखामा आँसु किन आउँछ ? त्यसैले जन्म र मृत्युसँग आँसुको अभिन्न सम्बन्ध छ, मान्छे जन्मँदादेखि नै आँखामा आँसु भरिइसकेको हुन्छ । जीवनकालका अनेक उकाली ओरालीमा आँसु त्यसै छचल्किन्छ । दुःखमा मात्र होइन, सुखमा पनि मान्छे बर्बरी आँसु खसाल्छ । क्वाँक्वाँ रुन्छ । आँसु पूरै बन्द भएको बेला त मान्छे मरिसकेको हुन्छ ।
साहित्यमा दार्शनिक अरिस्टोटलको विरेचनको सिद्धान्त प्रसिद्ध छ । नाटक हेर्न बसेको पात्रले जति धेरै रुन्छ, उसको मनको कल्मष पखालिएर ऊ शान्त हुन्छ । त्यस्तो गराउन नसक्ने साहित्य सफल मानिँदैन । नाटकको अभिनय (काल्पनिकता)भन्दा पनि दर्शक (वास्तविकता)को रुवाइले मानव जीवनलाई स्फूर्त बनाउँछ । क्याथर्सिस नामले उनको सिद्धान्त अहिले पनि सान्दर्भिक छ ।
पश्चिममा मात्र होइन, पूर्वमा पनि रुवाइको साहित्य सन्दर्भ छ । पूर्वीय साहित्य सिद्धान्तमा पनि आचार्य विश्वनाथले साहित्य दर्पणमा लेखेका छन्–
करुणादौ अपि रसे जायते यत्परं सुखम्
सचेतसाम् अनुभवः प्रमाणं तत्र केवलम् ।।
अर्थात् सचेत आनन्दको अनुभवको करुण रसमा पनि पाइन्छ । करुण रसको मूल भाव भनेकै रुवाइ हो । यो लोक व्यवहारमा हुने स्वाभाविक कार्य हो, जसले दुःख, पीडा र मनको मैलो पखालेर मान्छेलाई स्फूर्त बनाउँछ ।
राजनीतिको कठोर कुत्सित खेलमा कुटिल हाँसो नै बढी चल्ला । रामकुमारीको पछिल्लो रुवाइको कारण दलगत कलह नै हो भन्नेमा दुई मत छैन तर के रुनु भनेको रामकुमारीले नै आत्मसमीक्षा गरेझैँ साँच्चिकै कमजोरी नै हो त ? तथ्यले भन्छ, होइन । यो त स्वाभाविक गुण हो । आँसु र हाँसो नभएको मान्छेमा बरु कमजोरी हुन्छ । अनि राजनीति गर्नेको मन चाहिँ ढुङ्गाकै हुनुपर्छ र भन्ने पनि होइन । भावुक नेतृत्वले धेरै राम्रो काम गरेका उदाहरण प्रशस्त छन् ।त्यसैले भन्न मन लागेको छ– रुनुस् त ! मज्जाले रुनुस् ! तर ती आँसु ‘गोहीका आँसु’ भने नठहरियून् । अनि हाँस्दा पनि मज्जाले हाँस्नुस् तर हाँसो सकुनी हाँसो नहोस् ।