• २८ वैशाख २०८१, शुक्रबार

विपतको तयारीमा जुटन स्थानीय तहलाई आग्रह

blog

लीलाराज खड्का 

बिर्तामोड, असार १३ गते । बर्खायामको विपदबाट हुनसक्ने मानवीय र भौतिक क्षतिबाट वच्न झापाका स्थानीय तहलाई तयारी थाल्न जिल्ला विपद व्यवस्थापन समितिले आग्रह गरेको छ । आइतवार जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्ला विपद् व्यवस्थापन समिति बैठकले झापाका १५ वटै स्थानीय तहलाई विपद तयारी थाल्न आग्रह गरेको हो । 

जल तथा मौसम विभागकाअनुसार यस वर्ष बर्षातको समयमा अधिक वर्षा हुने पूर्वानुमान भएकाले मनसुनजन्य विपद् व्यवस्थापन लागि झापाका स्थानीय तह तथा सम्बन्धित सबै सरकारी एवम् गैरसरकारी निकायहरूले रोकथाम तथा उद्धारका लागि थप सतर्क भई पूर्व तयारी थाल्न समेत अनुरोध गरिएको छ । 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ मा स्थानीय तहले विपद्का सम्बन्धमा गरेको कामको वार्षिक प्रतिवेदन सम्बन्धित प्रदेश तथा जिल्ला विपद् व्यवस्थापन समितिमा बुझाउनुपर्ने नियम रहेको भन्दै विपद्को वार्षिक प्रतिवेदन सम्बन्धित निकायमा बुझाउन भनिएको छ । 

अघिल्लो वर्षाले कनकाई नदीको तटीय क्षेत्रका उच्च जोखिममा रहेका एक हजार ६६५ परिवारलाई १३ हजार ५ सयको दरले राहत वितरण भएकोमा यस वर्ष २ हजार २०० परिवारलाई १५ हजार रुपियाँको दरले रकम वितरण गर्नेगरी रेडक्रस सोसाइटी झापा शाखाका सर्वेक्षण टोलीहरू कनकाई, शिवसताक्षी, झापा, गौरीगञ्ज र कचनकवलमा  सर्वे गरिरहेको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनुभयो ।

बैठकमा रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जिल्लामा मनसुनजन्य विपद्को अवस्थाबारेमा जानकारी गराउनुभयो । प्रजिअ रिजालको अध्यक्षतामा बसेको बैठकमा डीडीएमसीका पदाधिकारी, १५ वटै पालिकाका प्रमुख तथा अध्यक्ष, कार्यालय प्रमुख तथा कर्मचारीको उपस्थिति रहेको थियो । जिल्लाको मेची, हडिया, निन्दा, देउनियाँ, कनकाई, मावा, रतुवा, विरीङ, अन्धुवा नदीलगायतको तटीय क्षेत्र स्थानीय उच्च जोखिममा रहेको विपद समितिले जनाएको छ ।