• २८ वैशाख २०८१, शुक्रबार

क्रिकेट टोली क्यानडा जाँदै

blog

विदाई कार्यक्रममा नेपाली क्रिकेट टोली । तस्बिर : क्यान

काठमाडौं, असार १३ गते । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डमा हुने त्रिदेशीय सिरिज खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नेपाली टोलीको विदाई गरेको हो ।

स्कटल्यान्डमा हुने लिग–२ अघि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलगायतले विदाई गर्नुभयो । नेपाली टोली सोमबार राति नै क्यानडा प्रस्थान गर्नेछ ।

सिरिजका लागि क्यानले आइतबार मात्र सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको । स्कटल्यान्डको सिरिजअघि नेपालले क्यानडासँग जुलाई ४ र ५ तारिख एकदीवसीय सिरिज खेल्नेछ ।

क्यानडामा सिरिज खेलेर नेपाली टोली उतैबाट नेपाल, स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय विश्वकप लिग–२ सिरिज खेल्न स्कटल्यान्ड जानेछ । स्कटल्यान्डमा नेपालले पहिलो खेल नामिबियाविरुद्ध जुलाई ११, दोस्रो खेल स्कटल्यान्डविरुद्ध जुलाई १३, तेस्रो खेल नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेल स्कटल्यान्डविरुद्ध जुलाई १७ मा खेल्नेछ । 

लिग–२ मा नेपालले हालसम्म १६ खेल खेलेको छ । नेपाल १५ अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ । नेपालसहित ओमान, यूएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पीएनजी गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् । 

नेपाली टोली 

सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, वासिर अहमद, किशोर महतो, पवन सर्राफ र विनोद भण्डारी ।