वासिङ्टन, भदौ २६ गते । अमेरिकी दक्षिणपन्थी कार्यकर्ता तथा राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी चार्ली किर्कको स्पष्ट राजनीतिक हत्यापछि विश्व नेताहरूले राजनीतिक रूपमा प्रेरित हिंसाको खतराबारे चेतावनी दिएका छन् ।
केवल ३१ वर्षको उमेरमा रूढीवादी राजनीतिमा उदाउँदो शक्तिशाली स्वर बनेका किर्कलाई युटाको युटाह भ्याली विश्वविद्यालयमा एक कार्यक्रममा बोल्दै गर्दा गोली प्रहार गरिएको थियो । उहाँको हत्यापछि विश्व नेताहरूले यसरी प्रतिक्रिया जनाएका छन् :
-अमेरिकाका लागि कालो क्षण : ट्रम्प -
“यो अमेरिकाका लागि कालो क्षण हो”, राष्ट्रपति डोनाल्ड ट्रम्पले हत्या भएको केही घण्टापछि ट्रुथ सोसलमार्फत जारी भिडियो सन्देशमा भन्नुभयो । उहाँले किर्कलाई ‘सत्यका लागि शहीद’ को उपाधि दिँदै भन्नुभयो, “मेरो प्रशासनले यस अत्याचारमा संलग्न हुने हरेकलाई पत्ता लगाउने छ, जसमा यसलाई कोष वा समर्थन गर्ने संस्था पनि पर्ने छन् ।”
-कुनै औचित्य छैन : क्यानाडा-
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक्समा लेख्नुभएको छ, “चार्ली किर्कको हत्याबाट म स्तब्ध छु । राजनीतिक हिंसाको कुनै औचित्य छैन । यसको हरेक कार्यले लोकतन्त्रलाई गम्भीर खतरा पुर्याउँछ ।”
-बहस गर्न स्वतन्त्र हुनुपर्छ : बेलायत-
बेलायती प्रधानमन्त्री किर स्टार्मरले एक्समा भन्नुभयो, “हामी सबै डरबिना स्वतन्त्र रूपमा बहस गर्न सक्षम हुनुपर्छ । राजनीतिक हिंसाको कुनै औचित्य हुन सक्दैन ।”
-लोकतन्त्रका लागि गहिरो घाउ : इटाली-
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले एक्समा लेख्नुभयो, “यो नृशंस हत्या लोकतन्त्र र स्वतन्त्रतामा विश्वास गर्नेहरूका लागि गहिरो घाउ हो । उहाँका परिवार, प्रियजन र अमेरिकी रूढीवादी समुदायप्रति मेरो गहिरो समवेदना छ ।”
-सत्य बोलेका कारण हत्या भयो : इजरायल-
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभयो, “चार्ली किर्कको हत्या सत्य बोलेको र स्वतन्त्रताको रक्षा गरेको कारणले भएको हो । उहाँ इजरायलका सच्चा मित्र हुनुहुन्थ्यो, जसले झूटविरुद्ध लड्नुभयो र यहुदी–ईसाई सभ्यताका लागि उभिनुभयो ।” नेतान्याहुले थप्नुभयो, “मैले दुई हप्ताअघि मात्रै उहाँसँग कुरा गरेको थिएँ र उहाँलाई इजरायल भ्रमणको निम्तो दिएको थिएँ । दुर्भाग्यवश, त्यो भ्रमण अब सम्भव हुने छैन ।” रासस/एएफपी