काठमाडौँ, भदौ २६ गते । साविक विजेता भारतले एसिसी एसिया कप क्रिकेटमा सुखद सुरुवात गरेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा बुधबार भएको खेलमा भारतले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नौ विकेटले हरायो ।
जितका लागि ५८ रनको सामान्य लक्ष्य पछ्याएको भारतले ४.३ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । भारतका लागि अभिषेक शर्माले सर्वाधिक ३० रन बनाउनुभयो ।
शुभमन गिलले अविजित २० र कप्तान सूर्यकुमार यादवले अविजित सात रन बनाउनुभयो । बलिङमा युएईका जुनैद सिद्धिकीले एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले १३.१ ओभरमा सबै विकेटको क्षतिमा ५७ रन बनाएको थियो । युएईका लागि ओपनर अलिशान सराफुले २२ रन बनाउनुभयो ।
कप्तान मोहम्मद वासिमले १९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा भारतका कुलदीप यादवले चार विकेट लिनुभयो ।
शिवम दुबेले तीन, वरुण चक्रवर्ती, अक्षर पटेल र जसप्रित बुमराहले एक एक विकेट लिनुभयो । एजेन्सी