गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २६ गते । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले असमान्य स्थितिको फाइदा उठाउनेहरूबाट विभिन्न ठाउँमा लुटपाट र आक्रमण भइरहेकाले जनताको जिउधनको सुरक्षा तथा सम्पत्तिको रक्षाका लागि सुरक्षा निकायसँग आग्रह गर्नुभएको छ ।
महासचिव पोखरेलले आज पार्टीको तर्फबाट विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएको हो । अवस्था सामान्य भएपछि पार्टी सङ्गठनमा जेनजी आन्दोलन र घटना बारेमा गम्भीर समीक्षा गर्ने उहाँले उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “यो प्रतिकुल अवस्था यही रूपमा सधैं रहने छैन, अन्त्य भएर जाने छ । यस्तो विषम परिस्थितिमा एकताबद्ध भएर रचनात्मक ढङ्गले अघि बढ्नुपर्छ ।”
सङ्कटको यस अवस्थामा सबैसँग समन्वय गरी प्रतिकुलतालाई चिर्नेगरी एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले भन्नुभएको छ, “राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक लाग्ने छ ।” अहिलेको यस अवस्थामा स्थानीय सरकारबाट निर्वाध रूपमा सेवा प्रवाहको वातावरण बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
मुलुक गम्भीर राजनीतिक सङ्क्रमणको अवस्थामा पुगेकाले राजनीतिक निकास संविधान सम्मत रूपले गर्न आवश्यक रहेको बताउँदै उहाँले लोकतन्त्रमा लोकतान्त्रिक विधि नै निकासको विकल्प रहेको उहाँको भनाइ छ । “संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन, संवैधानिक र लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछु,” महासचिवले उल्लेख गर्नुभएको छ ।
मुलुकमा भएको भयावह अवस्थाको न्यायिक छानविन गरी दोषीहरूलाई कानुनअनुसार कारबाही हुनुपर्ने उहाँको भनाइ छ । जेनजी पुस्ताले आफ्नो आन्दोलन शान्तिपूर्ण रहने बताएको भए पनि व्यवहारमा त्यस्तो नदेखिएको भन्दै उहाँले लुटपाट र तोडफोडजस्ता घटनाको जिम्मेवार को हो ? जिज्ञासा गर्नुुभएको छ ।
करिब १३ हजार बढी कैदीबन्दीहरू जेल बाहिर रहेको अहिलेको अवस्थामा शान्ति सुरक्षामा समेत चुनौती थपिएको बताउँदै उहाँले संवैधानिक संरचनाको तोडफोड र आगजनीले खरबाैँ राष्ट्रिय सम्पत्ति ध्वस्त भएपछि मुलुक विकासको हिसाबले निकै पछाडि धकेलिएको उहाँले चर्चा गर्नुभएको छ । असमान्य अवस्थामा फाइदा उठाउनेहरूबाट सबै सचेत रहनु पर्ने भन्दै उहाँले पार्टी कार्यकर्ताहरूलाई हतोत्साहित नहुन आग्रह गर्दै पार्टी पुनः दृढभएर उभिने बताउनुभएको छ ।