• २५ भदौ २०८२, बुधबार

कोरलाबाट आउन थाले चिनियाँ सामान

blog

मुस्ताङ, भदौ २५ गते । नेपाल–चीन उत्तरी कोरला नाकामा चिनियाँ सामान ढुवानीका लागि दर्जनौँ कन्टेनर त्यहाँ पुगेका छन् । भन्सार विभागले कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयलाई सक्रिय बनाएसँगै त्यहाँको नाकाबाट सामान ढुवानी गर्न व्यापारीका दर्जनौँ कन्टेनर त्यहाँ पुगेका हुन् ।

यहाँको नाकाबाट भन्सार विभागले सम्पूर्ण व्यवस्था मिलाएको हो । गत असारको बाढीले रसुवागढी नाका र साउनको पहिलो साता तातोपानी नाकामा बाढीपहिरोले चिनियाँ मालवस्तु ढुवानीमा अवरोध सिर्जना भएपछि भन्सार विभागले यहाँको नाकालाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याएको हो । यहाँको नाकालाई तत्कालका लागि वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको भए पनि अब यहाँको नाकाबाट चिनियाँ मालवस्तु आयातमा कुनै समस्या नपर्ने भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिनुभयो । यहाँको नाकामा मालवस्तु आयातका लागि विभागसँग कार्यालयको अनलाइन प्रणाली दर्ता भइसकेको र चाँडै ल्होमन्थाङमा भन्सार राजस्व सङ्कलनका लागि प्रभु बैङ्कबाट वित्तीय भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भएको कार्यालय प्रमुख खड्काले बताउनुभयो । 

उहाँले यहाँको नाकास्थित चिनियाँ भन्सारमा जाँचपास भई आयात भएका कन्टेनरको मालवस्तु जाँचपास गरी पठाइने उल्लेख गर्नुभयो । सोमबार चिनियाँ भन्सारमा जाँचपास भएका दुई कन्टेरनको मालवस्तु जाँच भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले व्यापारीले ल्याउने मालवस्तु ल्हासा र अन्य स्थानमा रहेको तथा ती मालवस्तु चिनियाँ भन्सारमा आउने क्रममा रहेको बताउनुभयो ।

यहाँका नाकाबाट ५०० भन्दा बढी बिवाइडी इभी गाडीसहित लत्ताकपडा, कस्मेटिक सामग्री र इलेक्ट्रोनिक सामान ढुवानी गर्न बेनी–जोमसोम–कोरला सडक हुँदै दर्जनौँ मालवाहक कन्टेनर कोरला पुगेका छन् । त्यहाँ पुगेका कन्टेनरलाई चिनियाँ भूमिमा प्रवेश गराएर मालसामान लोड अनलोड गराइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो । उहाँले चिनियाँ सामान ढुवानी गर्न करिब एक सयभन्दा बढी कन्टेनर पर्खाइमा बसेको बताउनुभयो ।