शिवशंकर मिश्रा
बारा, भदौ २५ गते । बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश लागू गरिएको हो । यस विषम परिस्थितिमा शान्ति सुरक्षा कायम गर्न नेपाली सेनासहित सबै सुरक्षा निकाय परिचालन गरिएको छ ।
कर्फ्युको समयमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा वा घेराउ गर्न निषेध गरिएको छ । यो आदेश जिल्लाभर अर्थात् पूर्वमा रौतहट, पश्चिममा पर्सा, उत्तरमा मकवानपुर र दक्षिणमा भारतसम्मको चारकिल्ला भित्र लागू हुनेछ ।
यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायत अत्यावश्यक सेवाका सवारी साधनलाई भने आवतजावतमा सहजीकरण गरिनेछ । सबै नागरिकलाई संयमित भई आ–आफ्नो घरमै रहन अपिल पनि गरिएको छ ।