• ११ पुस २०८१, बिहिबार

समाजवादीको केन्द्रीय परिषदमा साङ्गठानिक प्रतिवेदनमाथि छलफल

blog

पार्टीको केन्द्रीय परिषद बैठकमा सम्बोधन गर्नुहुँदै अध्यक्ष माधवकुमार नेपाल । तस्विर : कविता थापा

गोरखापत्र अनलाइन 

काठमाडौं, असार १३ गते । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय परिषद् बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । उहाँले समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, पार्टी गठन, विस्तार एवम् परिचालनलगायत राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको सो दलका नेताहरुले बताउनुभयो । 

विगतमा नेकपामा विभिन्न विकृति, विसङ्गति देखापरेको, पार्टी विधान देशको हितमा भन्दा समस्या पैदा गरेको, अन्तरसङ्घर्ष चरम बिन्दुमा पुगेपछि पार्टी विभाजनको स्थितिमा पुगेको उहाँले बैठकलाई प्रष्ट पार्नुभयो । 

नेकपा विभाजनपछि, एमालेलाई विभाजन गरियो, आत्मसमर्पण गर्ने वा निरीह हुने पहिलो विकल्प थियो । दोस्रो विकल्प राजनीतिबाट सन्यास लिने थियो तर हामीले तेस्रो विकल्प रोज्यौं र विद्रोह गर्यौं नेपालले भन्नुभयो । कतिपयले विभाजनबाट पार्टी चल्न र टिक्न नसक्ने बताए पनि इतिहास साक्षी रहेको उहाँको भनाइ छ । 

पछिल्लो समय गठबन्धनका कारण हालका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रवृत्तिविरुद्ध पाँचदलीय गठबन्धनको जिम्मेवारी प्राप्त भएको उहाँले चर्चा गर्नुभयो । 

“सरकारमा सहभागी भयौं, प्रदेश सरकारमा सहभागी भयौं । नयाँ घटना भइरहे, त्यसअर्थमा सबै कुरालाई स्मरण गर्नुपर्ने हुन्छ । स्थानीय तहको निर्वाचनको समीक्षा पनि गरिरहेका छौं । कमिटी निर्माणलाई उच्च प्राथमिकता दिएका छौं” नेपालले बताउनुभयो । बैठकमा एकीकृत समाजवादीको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।