बोमलाल गिरी
नवलपुर, भदौ २४ गते । जेनजीहरुको आन्दोलन र शोकका कारण नवलपुरका सबै शैक्षिक संस्था मङ्गलबार बन्द गरिएको छ । प्याब्सन नवलपुर, नेपाल शिक्षक महासंघ नवलपुर, सम्बन्धित क्याम्पस तथा स्थानीय तहहरुले छुट्टाछुट्टै सूचना जारी गरी नवलपुरमा शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेका हुन् ।
देशका विभिन्न ठाउँमा प्रदर्शन हिंसात्मक बन्दै गएपछि शैक्षिक संस्थाहरु बन्द गरिएका हुन् । नेपाल शिक्षक महासंघले पनि काठमाडौँ लगायत देशका विभिन्न ठाउँमा भएको जेन जिीहरुको आन्दोलनमा भएको असामान्य परिस्थितिका कारण आज नवलपुरका सबै सामुदायिक विद्यालयमा शोक बिदा गर्न अनुरोध गरेको छ ।
जेन जीहरुको प्रदर्शन भड्किएपछि त्रिभुवन विश्व विद्यालयले भदौ २२ गतेदेखि सञ्चालित चार वर्षे स्नातक तह दोस्रो वर्षको भदौ २४, २५ र २६ गतेका लागि तोकिएको आंशिक तथा मौका परीक्षाहरु स्थगित गरेको छ ।
स्थगित गरिएका परीक्षाहरु असोज २, ४ र ५ गतेका लागि तय गरिएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ । आज सडकमा सवारीको चाप पनि कम रहेको ट्रफिक प्रहरीले जनाएको छ । नवलपुरमा भने अहिलेसम्मको प्रदर्शन शान्तिपूर्ण रहेको छ ।