को हो त्यो
जो आफ्नो काँधमा तीन वटा दियो जलारहन्छ ?
को हो त्यो
जो सक्किए पछि उमेरको सलेदो
सरक्क बरबुझारथ गरिदिन्छ तिनै दीप अर्को काँधमा ?
कार्यालयको बायोमेट्रिक घाम
जब कोरिन्छ ई रजिस्टरमा
ऊ फटाफट प्रिन्ट गर्न थाल्छ, जनताका आशा र सपनाका वर्णमाला ।
उसले बुझेको छ
उत्तरदायित्व र जवाफदेहिताको किबोर्ड
उसले बुझेको छ
समृद्धि कुनै अराजक ईश्वरको चमत्कार होइन
उसले बुझेको छ
विकास कुनै विदेशी डोजरमा चढेर आउँदैन
आउँछ त
नागरिक सपनाको सङ्गीतमा
उसको कलमको निबले गर्ने लयबद्ध नृत्यसँगै ।
त्यसैले ऊ अक्सर भयभीत हुन्छ, वृद्ध आँखाका किनार सम्झेर
अस्पतालका बिमार शय्या सम्झेर
बालक चिच्याहटको सुदूर यात्रा सम्झेर....
त्यसैले ऊ सदैव निषेध गर्छ दराजको खापामै कैद गर्न
पहाडका समशीतोष्ण सपनाहरू
तराईका हरिया हाँसोहरू
हिमालका सर्वोच्च शिरहरू
को होला त्यो
जो आफ्नो काँधमा तीन वटा दियो जलाइरहन्छ ?
प्रशासन ।
के होला त्यो
जो अडिएको छ प्रशासनको काँधमा तीन दीप बनेर ?
विकास, समृद्धि र सुशासन ।
(निजामती कविता प्रतियोगितामा प्रथम भएको कविता)