देश बनाउने विषय एक व्यक्तिको लहड, एउटा पार्टीको योजना वा विशेष संस्थाको परियोजना होइन । सामूहिक चेतना, जिम्मेवारी र आकाङ्क्षाको समुच्चयबाट देश बन्छ । जब हामी सोध्छौँ, ‘देश कसले बनाउँछ ?’ यसको उत्तर सजिलो छैन तर स्पष्ट छ । देश सबैले बनाउँछन् । देश निर्माणमा प्रत्येक देशवासीको भूमिका हुन्छ चाहे त्यो स्वदेशमा होस् वा विदेशमा । जसरी एउटा कर्तव्यशील नागरिक देश बनाउन प्रत्यक्ष/परोक्ष रूपमा सहभागी हुन्छ त्यसरी नै देश बिथोल्न र बिगार्न एउटा कर्तव्यहीन नागरिकको गैरजिम्मेवारपन सहयोगी बनिदिन्छ । देश समृद्ध बनाउने र बिगार्ने हात आम मानिसकै हुन्छ । आम नागरिकको निष्ठा र समर्पणसहितको सहभागिता बिना देश बन्दैन ।
दल, विचार, सङ्गठन र प्रतिनिधित्व
राजनीतिक दलले सत्ता मात्र होइन, मुलुकको विचारधारात्मक मार्गचित्र कोर्छन् । उनीहरूको आदर्श, अनुशासन र कार्यशैलीले लोकतन्त्रको स्तर मापन हुन्छ । जब दलहरू विचारभन्दा माथि व्यक्ति पूजामा फस्छन्, तब मुलुक पतनतिर जान्छ । देश बनाउन दलहरूले प्रतिस्पर्धा मात्र होइन, सहकार्य र नीति–केन्द्रित संस्कृति पनि ल्याउनु पर्छ । लोकतान्त्रिक आचरण प्रदर्शन गरेर बलियो पद्धति बसाल्नु पर्छ ।
कानुन, शासन र नीति निर्माणकर्ता
कुनै पनि देशमा सरकार होइन, शासन प्रणाली महत्वपूर्ण हुन्छ । सरकार, संसद्, अदालत, सुरक्षा निकाय र सार्वजनिक संस्थान देश बनाउने मूल आधार हुन् । तिनीहरूको नीति, योजना, व्यवहार र निर्णयले देशको दिशा निर्धारण गर्छ । जब यी निकाय जनताको भलाइभन्दा निजी स्वार्थमा रमाउँछन्, देश गम्भीर सङ्कटमा जान्छ । यी संरचनाको पारदर्शिता, जवाफदेहिता र जनताप्रतिको उत्तरदायित्व देश बनाउने मूल सर्त हो । आममान्छे सरकारलाई देश ठान्छन् । सरकार त देशको एउटा साधन/ हतियार मात्र हो, समग्र देश होइन । संसद्, अदालत, प्रशासन, सुरक्षा निकाय, सार्वजनिक संस्थान यी यावत अङ्ग र संयन्त्र देश चलाउने पाङ्ग्रा हुन्, आत्मा होइनन् ।
देश कसरी समुन्नत बन्छन्
अमेरिकाले १७७६ मा स्वतन्त्रताको घोषणापछि औद्योगिक क्रान्तिको फाइदा लियो । नयाँ प्रविधि र नवप्रवर्तनमा अग्रसरता देखायो, आप्रवासनमार्फत विविध जनशक्ति भित्र्यायो । यथोचित परिचलानको वातावरण सिर्जना ग¥यो । सैन्यशक्ति र अन्तर्राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह ग¥यो । दोस्रो विश्वयुद्धपछि त आर्थिक, वैज्ञानिक र सांस्कृतिक सुपरपावर बनेर बसेको छ । जापान दोस्रो विश्वयुद्धमा पराजयपछि पूर्ण पुनर्निर्माणमा लाग्यो पश्चिमी प्रविधि र व्यवस्थापन शैली ग्रहण ग¥यो, शिक्षा र अनुशासनमा उच्च प्राथमिकता दियो । निर्यातमुखी औद्योगिकीकरण (कार, इलेक्ट्रोनिक्स) मा विशेष जोड दियो । परिणामः सानो भूभाग र स्रोत भए पनि विश्वकै तेस्रो ठुलो अर्थतन्त्रका रूपमा रहेको छ ।
जर्मनी विश्वयुद्धको विनाशपछि पुनर्निर्माणमा लाग्यो र सामाजिक बजार अर्थतन्त्रको नीति लियो । उच्च गुणस्तरको इन्जिनियरिङ र निर्माणको देश बनायो । युरोपेली सङ्घमा नेतृत्वदायी भूमिका खेल्यो । परिणाम युरोपको आर्थिक इञ्जिन, विश्वकै प्रमुख निर्यातकर्ता देश बन्यो । सिङ्गापुर १९६५ मा स्वतन्त्र भएपछि स्रोतविहीन सानो टापु व्यापार, बैङ्किङ र पोर्ट सेवामा केन्द्रित विकास गरेर स्वच्छ शासन र कम भ्रष्टाचार गर्ने देशको रूपमा विख्यात छ । मानव पुँजीमा लगानी (शिक्षा, स्वास्थ्य) को कारण उदाहरणयोग्य छ । एसियाली टाइगर–उच्च जीवनस्तर र विश्व व्यापार केन्द्रको रूपमा रहेको छ । चीन १९७८ पछि देङ सियाओपिङको सुधार नीतिको कारण विश्वमा नं. एक अर्थतन्त्र बन्ने क्रममा छ । बजारमुखी सुधार तर राज्यको मार्गदर्शन, ठुलो श्रमशक्ति र कम लागत उत्पादन, आधारभूत पूर्वाधारमा ठुलो लगानी जसको कारण विश्वकै दोस्रो ठुलो अर्थतन्त्र, विनिर्माणको केन्द्रमा दरिएको छ ।
शासन व्यवस्था जति सशक्त, उत्तरदायी र पारदर्शी हुन्छ, देश त्यति नै समुन्नत बन्छ । जब प्रत्येक नागरिकले आफैँलाई देशको अभिन्न हिस्सा ठान्छ र सुयत्न गर्छ अनि मात्र समुन्नत देश बन्छ । शासन प्रणालीसँग अभ्यस्त बन्दै देश सञ्चालनार्थ सहभागिता जनाउँछ ।
नागरिक समाज र विवेक
सञ्चार माध्यम, मानव अधिकार संस्था, श्रमिक सङ्घ, महिला तथा जनजातीय सङ्गठन, साना ठुला सहकारी यी सबैले देशलाई नैतिक र सामाजिक आधार दिन्छन् । संस्था मौन रहन्छन् या शक्तिसँग मिल्छन्, देश कमजोर बन्छ । देश बनाउने काम केवल शक्ति चलाउनेको होइन, शक्ति नियमन गर्नेहरूको पनि हो । सङ्घ–संस्था, सहकारी, श्रमिक सङ्गठन, महिला समूह, युवाका क्लब यी सबै समाजका अङ्ग हुन् । जब यी अङ्ग सचेत, सङ्गठित र समर्पित हुन्छन्, देशले सामाजिक पुँजी र सुदृढ आधार पाउँछ । यी संस्थाले शासनलाई खबरदारी मात्र होइन, सामाजिक र नैतिक मूल्यको जग पनि तयार पार्छन् ।
शिक्षक, कलाकार, बुद्धिजीवी, सञ्चारकर्मी शिक्षकले पुस्ता बनाउँछन् । शिक्षकको हातबाट जस्तो पुस्ता तयार हुन्छ, त्यसमा देशको भविष्य, अनुशासन र संस्कृति निर्भर हुन्छ । पुस्ता बनेपछि मात्रै देश बलियो बन्छ । एउटा शिक्षकको प्रतिबद्धता, सच्चरित्रता र दृष्टिकोण नै देशको दीर्घकालीन भविष्य हो । शिक्षकले रोपेको मूल्य र चेतनाको बिउबाट लाग्ने फल पुस्तौँले भोग्छ । विद्यालय, विश्वविद्यालय, कला र साहित्यका क्षेत्रले चेतना र विचार निर्माण गर्छन् । लेखकले सोच बनाउँछन्, कलाकारले समयको आत्मा बोल्छन् । देश तब बनिन्छ, जब शिक्षा प्रणाली समान, सुलभ र मूल्य–आधारित हुन्छ । जब कलाले सत्य बोल्न छोड्छ, देशको आत्मा मर्छ । देश बनाउन सत्यको पक्षमा कलम र चित्र बन्न जरुरी छ ।
बुद्धिजीवी, लेखक, कलाकारले देश बनाउँछन् बुद्धिजीवीले बुद्धि लगाएर देश निर्माणका पक्षमा बहस पैरवी गर्छन् । देश केवल भौतिक संरचनाले बन्ने होइन, ज्ञान उत्पादन त्यसको समुचित वितरण, चेतना, भाव र संस्कृतिबाट पनि बन्छ । लेखक विचार लेख्छन्, कलाकारले समयको चित्र कोर्छन् र सञ्चारकर्मीले सत्य बोल्छन् देश चेतनशील बन्छ र देश बन्छ ।
श्रमिक, किसान र व्यवसायी
देश उत्पादनबाट बन्छ, उपभोगबाट होइन । किसानले अन्न उब्जाउँछन्, श्रमिकले घर र बाटो बनाउँछन्, व्यापारीले अर्थतन्त्र चलाउँछन् । जब श्रमको मूल्य दिइँदैन, किसान आत्महत्या गर्छन् र व्यापारी कर छल्छन्, देशको मेरुदण्ड भाँचिन्छ । श्रम, सिप र उत्पादनको सम्मान र सुरक्षाले मात्र देश अघि बढ्छ । किसानले माटोलाई सुनमा परिणत गर्छन् । श्रमिकले सडक, भवन, पुल, बाँध मात्र बनाउँदैनन् देशको मेरुदण्ड निर्माण गर्छन् । जबसम्म तिनका पसिना र श्रमको सम्मान हुँदैन, देशले आत्मसम्मान पाउँदैन र देश बन्दैन ।
युवा र महिलाको भूमिका
युवा परिवर्तनका संवाहक हुन् । उनीहरूका आवाज, आक्रोश र आकाङ्क्षा देशको भविष्य हो । महिला घरभित्र र बाहिर दुवै भूमिकामा राष्ट्रनिर्माता हुन् । तिनीहरूलाई हिंसा, विभेद वा बेरोजगारीबाट जोगाउन सकिन्न, तब मुलुक स्थायित्व र समृद्धिको सपना देख्न सक्दैन ।
दलित देश निर्माता
राजनीतिज्ञ आहुतिले भने झैँ दलित चालक समुदाय हो । दलित समुदायको वैज्ञानिक, प्राविधिक, आविष्कारक, श्रमिक, कलाकार, सेवक र श्रम क्षेत्रको मेरुदण्ड हो । देशको असली निर्माता दलित समुदाय हो । जुन समुदायले अपमान बहिष्करण र पीडा खपेर पनि राष्ट्रनिर्माणमा निरन्तर पसिना, श्रम, आँसु, रगत र जीवन लगानी गरेको छ । दलित समुदायले परम्परागत रूपमा गरेको पेसा र श्रमको सामाजिक र भौतिक मूल्य समायोजन गर्नेबित्तिकै देश झन् गजबसँग बन्छ ।
हरेक नागरिक निर्माता
देश बनाउने काम कुनै एक शासक, पार्टी वा वर्गको मात्रै काम होइन । हरेक नागरिकले आफ्नो ठाउँबाट देश बनाउने जिम्मा लिएमा मात्र देश बन्छ । राष्ट्रको मुहार फेरिन्छ । विकासले बाटो पव्रmन्छ । ट्राफिक नियम पालना गर्ने चालकले देश बनाउँछ । चालकलाई मार्गदर्शन गर्ने ट्राफिकले देश बनाउँछ । विद्यालय नछोड्ने बालकले देश बनाउँछ । आफूले भोट दिँदा जिम्मेवार नेताको छनोट गर्ने मतदाताले देश बनाउँछ । अन्त्यमा देश बनाउने सबैभन्दा महìवपूर्ण स्टेकहोल्डर एउटा व्यक्ति नै हो । त्यो व्यक्ति को हो ? म, तपाईं, हामी सबै ।
जथाभाबी फोहोर नगर्ने एक सचेत नागरिक । भोट बेच्ने होइन, सोचेर दिने मतदाता । काममा बेइमानी नगर्ने कर्मचारी । चोखो हिसाब राख्ने पसले । अनावश्यक रिस राग नपालेको ग्राहक । सडकमा कानुन पालन गर्ने चालक । चुपचाप गलत सहन नपर्ने विद्यार्थी आदि देश बनाउने सिङ्गो प्रव्रिmया, अन्ततः एउटा व्यक्तिको नैतिक चेतना, नागरिक विवेक र अनुशासनमा आएर ठोकिन्छ । देश बनाउने काम हामीबाट सुरु हुन्छ, हामीबाट फैलन्छ । आफ्नो कर्तव्यमा दत्तचित्त भएर जो लागेको छ, त्यो देशको असली निर्माता हो ।
गाउँको एक जना किसान, सहरको एउटा मजदुर, भिडभाडमा गुज्रिँदै गरेको एक विद्यार्थी, सडक सफा गरिरहेकी महिला, बाउसे गरिरहेको पुरुष, औषधी गरिरहेको स्वास्थ्यकर्मी, हिमाल चढिरहेको शेर्पा यी सबै व्यक्ति देशका गहना हुन् । देश तब बन्छ, जब मान्छेले आफ्नो जिम्मेवारी बुझ्छन्, विवेकले काम गर्छन् र परिवर्तनका लागि आफूबाट थालनी गर्छन् । देश निर्माता पृथ्वीनारायण शाह पनि हुन् । विशे नगर्ची र अमरसिंह थापा, योगमाया हुँदै वर्तमानमा हामी पनि हौँ ।
निष्कर्ष
देश बनाउने काम शासन, प्रणाली, संस्था, आन्दोलन वा योजना मात्रै होइन । त्यो काम सबैको हो, सबैभन्दा पहिला एउटा व्यक्तिको हो । जब सबैले आफ्नो ठाउँबाट सही काम गर्छन् । त्यो शिक्षक होस्, किसान होस्, या सर्वसाधारण नागरिक देश आफैँ बन्न थाल्छ । देश बनाउने कुरा सधैँ ‘उनीहरूले के गरे ?’ उनीहरूले जिम्मा पाएका हुन् भन्नेमा सीमित हुँदैन । ‘मैले के गरेँ ?’ भन्ने आत्मबोध र आत्मसमीक्षा हो देश बनाउने विचार । देश निर्माण कुनै विशेष समयको परियोजना होइन, यो निरन्तर चलिरहने एउटा साझा यात्रा हो ।
जब सबै नेपालीले आफूभित्र देश देख्न थाल्छन्, तब मात्र देश साँच्चिकै बन्न थाल्छ । आजसम्म देश जुन रूपमा र जसरी बन्नु पथ्र्यो, त्यसरी बन्न नसकेको मूल कारण व्यक्ति–व्यक्ति, समाज, समुदाय, सङ्घ, संस्था र शासकीय संरचनामा पुगेर पनि कर्तव्य निर्वाह गर्न चुकेकोले हो । स्पस्ट नीति, सही नेतृत्व र जनताको सहभागितामा मात्र देश विकसित, समृद्ध र सभ्य बन्छ ।