• २७ वैशाख २०८१, बिहिबार

कृषिमा प्रदेश १ अगाडि

blog

काठमाडौँ, असार १३ गते । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत  छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन (प्रदेश १) प्रथम अर्धवार्षिक प्रतिवेदन (आव २०७८/७९)मा उल्लेख छ । कृषि क्षेत्रमा मधेश प्रदेशको १९ प्रतिशत, लुम्बिनी १७ दशमलव ३, बागमतीको १७ दशमलव १ प्रतिशत, सुदूरपश्चिमको ९ दशमलव ८ प्रतिशत र गण्डकीको ९ दशमलव ६ प्रतिशत योगदान  छ ।  

उद्योग क्षेत्र

मुलुकको समग्र औद्योगिक उत्पादन तथा सेवा क्षेत्रमा प्रदेश १ दोस्रो स्थानमा छ । प्रदेश १ मा उद्योग क्षेत्रको उत्पादनमा १९ दशमलव ६ प्रतिशत र सेवा क्षेत्रमा १२ दशमलव ५ प्रतिशत योगदान  छ । गत वर्ष कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २१ दशमलव ७ प्रतिशत, १९ दशमलव ६ प्रतिशत र १२ दशमलव ५ प्रतिशत  थियो । 

कुल गार्हस्थ्य उत्पादन 

राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा प्रदेश १ को योगदान १५ दशमलव ७ प्रतिशत छ । चालू आर्थिक वर्ष प्रदेश १ को आर्थिक वृद्धिदर ५ दशमलव ०९ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश १ को आर्थिक वृद्धिदर आव २०७७÷७८ मा ३ दशमलव ८८ प्रतिशत थियो । 

आव २०७८/७९ मा प्रदेश १ को कुल गार्हस्थ्य उत्पादन (उपभोक्ता मूल्यमा) सात खर्ब ६३ अर्ब रुपियाँ हुने अनुुमान गरिएको छ, जुन राष्ट्रिय अर्थतन्त्रको १५ दशमलव ७ प्रतिशत हो । चालू आर्थिक वर्ष पुस मसान्तमा प्रदेश १ मा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन साढे तीन खर्ब पुगेको छ । यो निक्षेप असारको तुलनामा पुस मसान्तमा १.४ प्रतिशतले वृद्धि भएको हो । सो अवधिमा वार्षिक बिन्दुगत आधारमा कुल निक्षेपको वृद्धिदर पनि १२.३ प्रतिशत थियो ।

कर्जा र निक्षेप वृद्धि

प्रदेश १ मा सर्वसाधारणमा बचत गर्ने बानीमा आएको सुधार, रेमिट्यान्स आप्रवाह, विद्युतीय कारोबारमा भएको वृद्धि तथा बैङ्किङ सेवा विस्तार भएकाले निक्षेप परिचालन बढेको देखिएको छ ।गत आर्थिक वर्ष पुसको तुलनामा २०७८ पुस मसान्तमा यस प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा ३०.१ प्रतिशतले वृद्धि भई पाँच खर्ब ४२ अर्ब रुपियाँ पुगेको छ । २०७८ पुस मसान्तसम्म प्रवाहित कुल कर्जामध्ये कृषि कर्जाको हिस्सा ९.६ प्रतिशत, औद्योगिक कर्जाको हिस्सा २६.५ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ६४.० प्रतिशत  छ ।

गत असार मसान्तमा कृषि कर्जाको हिस्सा ९.८ प्रतिशत, औद्योगिक क्षेत्रको हिस्सा ३०.६ प्रतिशत र सेवा क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा ५९.७ प्रतिशत  थियो । २०७८ पुस मसान्तमा यस प्रदेशमा कर्जा निक्षेप अनुपात १५५.२ प्रतिशत  छ ।

कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सरकारले घोषणा गरेको विभिन्न छुट तथा सुविधा, मौद्रिक नीतिले प्रदान गरेको सुविधा, सहुलियतपूर्ण कर्जा, पुनर्कर्जा सुविधा, सर्वसाधारणको वित्तीय पहुँचमा भएको वृद्धि, पूर्वाधारको विकास तथा विस्तार आदि कारणले लगानीका लागि वातावरण अनुकूल बन्दै गएकाले कर्जाको माग तथा प्रवाह बढेको देखिएको छ ।

यस्तै गत असार मसान्तमा कुल निक्षेपमा चल्ती निक्षेपको अंश १०.८ प्रतिशत, बचत निक्षेपको अंश ४९.६ प्रतिशत, मुद्दती निक्षेपको अंश ३१.९ प्रतिशत र अन्य निक्षेपको अंश ७.७ प्रतिशत  थियो ।२०७८ असारको तुलनामा २०७८ पुस मसान्तमा निक्षेपकर्ताको सङ्ख्या १४.० प्रतिशत वृद्धि भई ५४ लाख ९५ हजार पुगेको छ भने ऋणीको सङ्ख्या १२.९ प्रतिशत वृद्धि भई दुुई लाख ७५ हजार पुगेको छ । 

Author

लक्ष्मी सापकोटा-भेषराज बेल्बासे