सिराज खान
नेपालगन्ज, भदौ २१ गते । वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) धनबहादुर थापाको ड्युटीमै रहेको बेला हृदयघात भएर निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत रहनुभएका प्रहरी नायब निरीक्षक थापाको नेपालगन्ज कान्ति ताल क्षेत्रमा ड्युटी गर्नेक्रममा शनिबार हृदयघातका कारण निधन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले शनिबार बिहान कान्ति तालमा ड्युटीमा गएको बेला प्रहरी नायब निरीक्षक थापा हृदयघात भएर ढल्नुभएको थियो । उहाँलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषित गरेको बताउनुभयो ।
उहाँले मिलनसार र सङ्गठनप्रति कर्तव्यनिष्ठ प्रहरी नायब निरीक्षक थापा रोल्पाको स्थायीवासी रहेको बताउनुभयो । मृतक थापाकी छोरी विदेशमा रहेको हुँदा उहाँ स्वदेश फर्केपछि मात्र थापाको अन्तिम संस्कार गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।