काभ्रे, असार १३ गते । उतिबेला कलिली उमेरकी कान्छी तामाङको अरू युवतीका जस्तै अनेक रहर थिए तर २०७२ वैशाख १२ गते आएको शक्तिशाली भूकम्पले गर्दा उहाँका रहर पनि बदलिए । भूकम्पपछि भत्केका घर तथा अन्य भौतिक संरचना पुनर्निर्माण गर्न स्थानीयवासीको सहभागितालाई तत्कालीन पुनर्निर्माण प्राधिकरण र दातृ निकायले जोड दिए । त्यसपछि कान्छीजस्तै धेरै युवतीको बाटो मोडियो । सामान्य लेखपढ गर्नेका लागि ज्याला मजदुरी गर्नुको विकल्प थिएन तर डकर्मीको तालिम लिएपछि उहाँको काम फेरियो ।
सीपयुक्त डकर्मी भएर पनि सुख पाउनुभएन उहाँले । पहिले त महिलाले घर बनाउन सक्छन् र भनेरै धेरैले पत्याएनन् । त्यही कारण उहाँले डकर्मी भएर पनि लामो समय सहयोगी मजदुरको काम गर्नुभयो । कतिपय ठेकेदारले जानेको काम लगाएर पनि पुरुष डकर्मी मिस्त्रीले पाउनेसरहको ज्याला दिएनन् ।
यति हुँदा पनि कान्छी तामाङले हिम्मत हार्नुभएन र आफ्नै गाउँमा सहयोग पाइएला भनेर नुवाकोटका घर बनाउन सक्रिय हुनुभयो । उहाँले भन्नुभयो, “तर घर बनाएपछि पनि महिलाले राखेको धुरी हेर्न हुन्न भनेर गाउँका कोही मानिस घर हेर्नै आएनन् ।” आफ्नै गाउँ कति मेहनत र हौसलाले घर बनाएका बेला भोगेको पीडायुक्त त्यो पल उहाँलाई अझै झल्झली याद आउँछ । बनिसकेको घरमा बास बस्न र हेर्न धेरैपछि मात्र गाउँले ढिम्किए ।
उहाँजस्तै भूकम्प प्रतिरोधी घर बनाउने तालिम लिएर सक्रिय रहनुभएकी डकर्मी सावित्री ढकालले पनि यो पेसालाई निरन्तरता दिन धेरै चुनौती खेप्नुभयो । उहाँका अनुसार अझै पनि घर र अन्य भौतिक संरचना महिलाले बनाउन सक्छन् भन्ने विश्वास नै गर्दैनन् ।
“छिमेकमै घर बनाउने काम आइपरे पनि पुरुषलाई दिन्छन्, महिलाले काम देखाएर विश्वास जित्नुपर्छ । महिला र पुरुष समान हुन्न,” उहाँले भन्नुभयो । कुनै भेदभाव गर्न पाइँदैन भनेर संविधानले प्रस्तावना र मौलिक हक दिएर व्याख्या गरेको छ । उहाँले भन्नुभयो, “यति धेरै चुनौती आए पनि महिला मिलेर घर बनाएरै देखाउन भने छाडेका छैनौँ ।” प्रविधिगत सीप लगनशीलताका साथ काम गर्न सके महिला मिस्त्री मात्र हैन, घर बनाउने ठेक्का लिन पनि सक्षम भएको उहाँले बताउनुभयो ।
उहाँहरूजस्तै डकर्मी पेसा अँगाल्नुभएकी बिन्दा नगरकोटीले महिला डकर्मीलाई एक्लै अगाडि बढ्न गाह्रो भएको अनुभव सुनाउनुभयो । “बालुवा चाल्ने, बोक्ने, मसला मिसाउनेजस्ता काममा सीमित गर्न खोजिन्छ । बुझ्ने पुरुष ठेकेदारले भने सीप चिनेर काम लगाउँछन् तर ज्यालामा धेरैजसो विभेद गर्छन्,” उहाँले भन्नुभयो ।
शुक्रबार काभ्रेको धुलिखेल नगरपालिका–२, रविओपीमा विश्व बैङ्कका प्रतिनिधिसामु महिला डकर्मीले तालिम लिएपछि घरको जग खन्ने, दोहोरो पाटा बाँध्ने, गुणस्तरीय इँटा, छड, सिमेन्ट, बालुवालगायतका सामग्रीको छनोट कसरी गर्ने भन्ने ज्ञान बटुलेको आफ्ना अनुभव सुनाउनुभयो । साथै बलियो घर बनाउदा आवश्यक मापदण्डको शिक्षा र बनाउने कला पनि महिला डकर्मीले पुरुष डकर्मीसँग काँध मिलाएर ४५ दिनको तालिममा सिकेका थिए ।
विश्व बैङ्कका प्रबन्ध निर्देशक मारी पाङ्गेस्तुले अबका दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर उहाँहरूसँग अन्तक्र्रिया गर्नुभयो । त्यस्तै बैङ्कका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग चाफरले विश्व बैङ्कको सहयोगमा नेपालमा आठ लाख धुरी घर बनेको र त्यसमा महिला सहभागिता सुनिश्चित गरिएको आँैँल्याउनुभयो ।
भूकम्पजस्तै अन्य प्राकृतिक विपत्सँग लड्न स्थानीय तहलाई सीप सिकाएर सँगै अगाडि बढ्ने प्रतिबद्धता नेपाल सरकारको रहेको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखेरेलले जानकारी दिनुभयो ।
भूकम्पपछि विश्व बैङ्कको ऋण तथा अनुदानमा नेपालमा भूकम्प प्रतिरोधी घर बनाउन सुरु भयो तर त्यसमा सामुदायिक सहभागिताको सर्त थियो । जसका लागि विश्व बैङ्क, यूएनडीपी, नेपाली सरोकारवाला निकायको सक्रियतामा ७५५ जनालाई डकर्मी तालिम प्रदान गरिएको थियो, जसमध्ये १४९ जना महिला थिए ।
यसरी सिकेको सीपको प्रयोग जहाँजहाँ भूकम्प प्रतिरोधी घर पुनर्निर्माण भए, त्यहाँ उपयोग गरिए । अब उहाँहरू यही पेसा अँगालेर स्वतन्त्र रूपमा समुदायका अन्य घर बनाउने काममा सक्रिय हुनुहुन्छ । महिलाको समूह नै बनाएर काम गर्ने चाहना महिला डकर्मीको छ ।