• २३ भदौ २०८२, सोमबार

जिज्ञासु स्वभावका कारण राजा

blog

पूर्ण ज्ञानले मानिसलाई परिपक्व र विद्वान् बनाउँछ भने अधुरो ज्ञानले उसलाई पाखण्डी र घमण्डी बनाउँछ अनि त्यसले पतनको मार्गतिर लैजान्छ । सही ज्ञानले मानिस देवता समान बन्न सक्छ, सफलताको शिखर चुम्न सक्छ भने अधकल्चो ज्ञानले उसलाई असुर समान बनाउँछ र अधोगति प्राप्त गराउँछ । त्यसैले मानिसमा ज्ञानको भोकका साथै धैर्य हुनु पर्छ, सत्यको खोजीमा डटिरहने सामथ्र्य, जसले उसलाई सत्यको नजिक पु¥याउँछ । सतही ज्ञान हुने मानिस बाहिरबाट जतिसुकै फूर्तिलो देखिए तापनि ऊभित्रबाट खोक्रो हुन्छ । सत्यलाई जान्न गहिराइसम्म डुबुल्की मार्ने हिम्मत हुनु पर्छ, ज्ञानको भोक जाग्नु पर्छ । जीवनमा केही हासिल गर्ने हो भने मेहनत, परिश्रम र तप चाहिन्छ । त्यसैले शास्त्रले भन्छ श्रवण, मनन र निदिध्यासन गर्नु भनेर । कसैले केही कुरा भनिहाल्दैमा त्यसलाई तुरन्त विश्वास वा अविश्वास गर्नुभन्दा त्यसको राम्ररी जाँच पड्ताल, अनुसन्धान गर्नुका साथै त्यसलाई तर्कको कसीमा तौलनुपर्ने हुन्छ । तब मात्र हामी सत्यको मार्गमा अगाडि बढ्न सक्छौँ, जसबाट हामी स्वतन्त्र हुन्छौँ, दासताबाट मुक्त हुन्छौँ, विरोचन जस्तो असुर हुनबाट जोगिन्छौँ र इन्द्र जस्तो स्वर्गको सिंहासनका हकदार हुने छौँ । यो कुरा छान्दोग्योपनिषद्को अन्तिम खण्डतिर उल्लेखित प्रजापतिले इन्द्र र विरोचनलाई आत्मज्ञान दिएको कथाबाट हामी सिक्न सक्छौँ ।

उक्त कथा अनुसार प्रजापतिको पहिलो उपदेशलाई नै अन्तिम ज्ञान मानेर शरीरलाई नै आत्मा ठान्ने विरोचन असुरको राजा बन्छ भने प्रजापतिको उपदेशमा पनि एकपछि अर्को प्रश्न गर्दै जिज्ञासा राख्दै तर्क वितर्क र चिन्तन गरेर अन्त्यमा सत्यको नजिक पुग्न कोसिस गर्ने इन्द्र देवताको राजा बन्छन् । इन्द्र वैदिक शास्त्रका एक महत्वपूर्ण देवता मानिन्छन् । ऋग्वेदका कुल एक हजार २८ सूक्तमध्ये एक चौथाइ जति अर्थात् २५० सूक्त इन्द्रदेवका निम्ति समर्पित छन् । इन्द्र अत्यन्त बलशाली देवता मानिन्छन् । इन्द्रलाई वर्षाका साधन पर्जन्य, बादल, बिजुलीका रूपमा पनि वर्णन गरिएको पाइन्छ ।

शास्त्र र गुरु उपदेश अनुसार जसले आत्मज्ञान प्राप्त गर्छ, त्यसले समस्त लोकलाई जित्छ र समस्त कामना प्राप्त गर्छन् भन्ने प्रजापतिको कुरा सुनेर देवराज इन्द्र र दैत्यराज विरोचन आत्मज्ञानका निम्ति प्रजापतिकहाँ जान्छन् । प्रजापतिले उनीहरूलाई पहिले ३२ वर्ष ब्रह्मचर्यवास गरेर आउनु भनी आदेश दिन्छन् र उनीहरू त्यसै गरी पुनः प्रजापतिकहाँ जान्छन् । प्रजापतिले आउनाको खास कारण के हो भनी सोध्दा उनीहरूले भन्छ, जसले जन्म, मृत्युरहित, शोकरहित सत्यस्वरूप आत्मालाई जान्छ, त्यसले सबै लोक प्राप्त गर्छ र समस्त कामना पूरा गर्न सफल हुन्छ भन्ने सुनेकाले हामी त्यसैलाई जान्न आएका हौँ । 

प्रजापतिले उनीहरूलाई भन्छन्–नेत्रमा देखिने पुरुष नै आत्मा हो, त्यो अमृत हो, ब्रह्म हो । तब उनीहरू सोध्छन्, जो जलमा देखिन्छ र जो ऐनामा देखिन्छ के त्यही आत्मा हो ? जवाफमा प्रजापतिले भन्छन्, यी सबमा देखिने त्यही अमर, अजर, अविनाशी आत्मा हो । प्रजापतिले जलमा के के देख्यौ तिमीहरूले ? भनेर सोध्दा उनीहरूको उत्तर हुन्छ–भगवान्, हामीले आफ्ना समस्त आत्मालाई रौँ देखि नङसम्म जस्ताको तेस्तै देख्यौँ । उनीहरूले प्रजापतिले भने जस्तै राम्रो लुगा लगाएर, शृङ्गार गरेर, सुसज्जित भएर पुनः जलमा आफ्नो प्रतिविम्ब हेर्छ र भन्छ, हामी जसरी सुन्दर र अलङ्कृत भएर आयौँ, जलमा पनि त्यस्तै देख्यौँ । प्रजापतिले भने, त्यो आत्मा हो, अमृत हो, अभय ब्रह्म हो । उपनिषद्को विशेषता यही छ कि त्यसमा गुरुले शिष्यलाई सबै कुरा पहिल्यै नभनी उनीहरू आफैँलाई सत्यको खोजी गर्न लगाउँछन् । यहाँ प्रजापतिले पनि सबै ज्ञान पहिल्यै नदिई उनीहरूलाई अनुसन्धान गर्न उत्पे्ररित गर्छन् ।

त्यसपछि उनीहरू हामीले त आत्मालाई देख्यौँ भनेर सन्तुष्ट हुँदै आआफ्नो बाटो लागेको देखेर प्रजापतिले मनमनै भन्छन्, यिनीहरू दुवै आत्मज्ञानबिना नै फर्केछन् । त्यसपछि विरोचन असुरकहाँ गएर असुरलाई सुनाउँछन्–मैले आत्मालाई जानेँ । यो शरीर नै आत्मा रहेछ । आत्मज्ञान हुनेले यसलोक र परलोक दुवैमा विजय प्राप्त गर्ने छन् भन्दै उनी दङ्ग पर्छ ।

तर उता इन्द्रलाई भने त्यस कुराले चित्त बुझ्दैन । उसले मनमनै सोच्छ, यदि शरीर नै आत्मा भए शरीर बिरामी भएमा, कुरूप भएमा वा अथवा खण्डित भएमा के आत्मा पनि त्यस्तै होला त ? उसलाई त्यस कुरामा शङ्का लाग्छ र फर्केर पुनः प्रजापतिकहाँ गई आफ्नो असन्तुष्टि शङ्का समाधानका निम्ति आग्रह गर्छ । अनि प्रजापतिको आदेश अनुसार फेरि ३२ वर्ष ब्रह्मचर्य बस्छ र त्यसपछि पुनः प्रजापतिकहाँ आत्मज्ञानका निम्ति जान्छ । प्रजापतिले यसपल्ट उनलाई भन्छन्, “जो सपनामा विभिन्न तरिकाले विचरण गर्छ, त्यो स्वप्न शरीर वा सूक्ष्म शरीर नै आत्मा हो र त्यो अमर, अजर, अविनाशी हुन्छ । यो शरीर अन्धो भए पनि त्यो स्वप्न शरीर अन्धो हुँदैन र यो शरीर थाक्छ तर त्यो थाक्दैन ।”

इन्द्रले फेरि विचार गर्छ, त्यो त ठिकै छ तर यो स्वप्न शरीरलाई पनि त कसैले पीडा दिन सक्छ, यसलाई व्यथित गर्न सक्छ र यो अप्रिय कुरा कसैले बोलेमा रुन सक्छ । त्यसैले यो पनि अमर, अजर आत्मा हुन सक्दैन भनी ऊ फेरि फर्केर प्रजापतिकहाँ आत्मज्ञानका निम्ति फर्केर जान्छ । प्रजापतिले उनलाई थप ३२ वर्ष तप गर्न आदेश दिन्छ र उ ३२ वर्ष तप गरेर प्रजापतिसँग भेट्न जाँदा प्रजापतिले थप ज्ञान दिँदै भन्छन्, जो पुरुष सुशुप्त अवस्थामा छ, जसले सपना पनि देख्दैन र जो आनन्द अनुभव गर्छ, त्यो नै आत्मा हो । त्यो सुनेर इन्द्र सन्तुष्ट भई त्यहाँबाट हिँड्छ तर अलि पर पुगेपछि उनको मनमा फेरि शङ्का उठ्छ, त्यस अवस्थामा त त्यो पुरुषलाई यो पनि ज्ञान हुँदैन कि म छु, तब त्यो चेतनाहीन पुरुष कसरी आत्मा हुन्छ ? 

ऊ पुनः फर्केर प्रजापतिकहाँ जान्छ र आफ्नो शङ्का बताउँछ । प्रजापतिले उनलाई पुनः पाँच वर्ष ब्रह्मचर्य बस्न आदेश दिन्छ र उ पुनः पाँच वर्ष ब्रह्मचर्य बसेर फर्कन्छ । यसरी इन्द्रले कुल १०१ वर्ष ब्रह्मचर्य बस्छ आत्मज्ञान पाउनका लागि । तब प्रजापति प्रसन्न हुन्छन् र इन्द्रलाई आत्मज्ञान दिँदै भन्छन्, हे इन्द्र यो शरीर मरणशील छ, रोगले ग्रस्त हुन्छ तर आत्मा अमृत र अशरीर हुन्छ । शरीर आत्माको अधिष्ठान हो । सशरीर आत्मा निश्चय नै प्रिय, अप्रियले ग्रस्त हुन्छ, तर अशरीर आत्माप्रिय, अप्रियबाट ग्रस्त हुँदैन । वायु, मेघ, विद्युत् जस्तै यो आत्मा पनि अशरीर र ज्योति स्वरूप हुन्छ । रूप ग्रहण गर्ने नेत्रेन्द्रिय हो भने देख्ने आत्मा हो, जसले म यो श्रवण गरुँ भन्छ त्यो आत्मा हो भने ध्वनि ग्रहण गर्ने श्रोत्रेन्द्रिय हो । गन्ध ग्रहण गर्ने नाक हो भने जसले राम्रो, नराम्रो बासना सुँघ्छ त्यो आत्मा हो, शब्द उच्चारण गर्ने मुख हो भने जसले म यो शब्द बोल्छु भन्छ त्यो आत्मा हो । यसरी प्रजापतिबाट इन्द्रले आत्मज्ञान पाउँछन । जिज्ञासु, धैर्यवान्, तपस्वी, आत्मन्वेषी भई आत्मालाई जान्ने इन्द्र स्वर्गका राजा भए भने अधुरो ज्ञान हासिल गर्ने, सतही कुरामै सन्तुष्ट हुने र शरीरलाई नै आत्मा ठान्ने विरोचन असुरहरूका राजा बने । 

जसले शारीरिक सौन्दर्यलाई मात्र महत्व दिन्छ, जसले मरेको मानिसलाई श्रीखण्ड, फूलमाला, सुगन्ध, रेशमको वस्त्र, पैसा, गरगहना आदिले सजीसजाउ गरेर परलोक प्राप्त हुन्छ भन्ठान्छ, त्यो आसुरी स्वभावको मानिस हो, उपनिषद्मा भनिएको छ । उपनिषद्हरूमा भनिएको छ, शरीरलाई आत्मा ठान्नु नै अज्ञान हो । हामी आफूलाई डाक्टर, इन्जिनियर, कलाकार, राजनीतिज्ञ, समाजसेवी, पत्रकार, बुद्धिजीवी आदि पहिचानद्वारा चिनाउन खोज्छौँ, वास्तवमा त्यो हाम्रो वास्तविक पहिचान नभई शरीरको नाम वा बाहिरी आवरण मात्र हो । हामीले आफ्नो पहिचान सूक्ष्म कुरामा खोज्नु पर्छ । शरीरभन्दा इन्द्रिय सूक्ष्म हुन्छ, इन्द्रियभन्दा मन, मनभन्दा बुद्धि र बुद्धिभन्दा आत्मा सबैभन्दा सूक्ष्म हुन्छ, जुन हाम्रो असली पहिचान हो । हामी त शुद्ध चेतना हौँ, जो न घट्छ, न बढ्छ, न बिरामी हुन्छ, न दुब्लो वा मोटो नै हुन्छ । त्यो चेतना अमर, अजर, अक्षय, अनन्त र सत्यस्वरूप हुन्छ । 

ऐतरेयोपनिषदमा भनिएको छ, जब जीवात्माले आफ्नो शरीरभित्र प्रवेश गरी त्यहाँ आफूबाहेक अरू कोही छ कि भनी हेर्दा उसले आफैँलाई ब्रह्मस्वरूप देख्छ र भन्छ इदन्द्र अर्थात् मैले देखेँ । यसरी इदन्द्रबाट अपभ्रंश भई इन्द्र भएको भन्ने सो उपनिषद्को निष्कर्ष छ । माण्डुक्य उपनिषद्मा पनि भनिएको छ, आत्मा न जागृत अवस्था हो, न सुषुप्तिको अवस्था न स्वप्नावस्था, त्यो त चौथो वा तुरीय अवस्था हो, जो तिनै अवस्थामा अटुट रूपमा विद्यमान छ, तिनको साक्षी भएर । त्यो आत्मा अदृष्ट, अव्यवहार्य, अग्राह्य, अजन्मा, अमर, अनन्त र विशिष्ट प्रकारको हुन्छ । 

छान्दोग्यको अन्तिम अध्यायको अन्तिम वाक्य ज्यादै मर्मस्पर्शी छ, न च पुनरावर्तते । अर्थात् त्यो ब्रह्मलोक पुगेर पुनः मृत्युलोकमा फर्केर आएन । शास्त्रमा भनिएको छ, कर्मचितो लोक क्षीयते, पूण्यचितो लोक क्षीयते अर्थात् कर्मले आर्जेको पितृलोक आदि नाशवान् छ, त्यस्तै पूण्यले आर्जेको स्वर्ग आदि लोक पनि नाशवान् छ तर गुरु उपदेश र शास्त्रज्ञानद्वार हासिल गरिएको आत्मज्ञान मोक्ष प्रदायक हुन्छ । आत्मज्ञानीले सम्पूर्ण इन्द्रियलाई अन्तःकरणमा स्थापित गरी प्राणीहरूको हिंसा नगरिकन अनुशासित भै आफ्नो सम्पूर्ण आयु बाँचेर अन्तमा ब्रह्मलोक प्राप्त गर्छ, जहाँ पुगेर ऊ फेरि (यस लोकमा) फर्केर आउँदैन, फर्केर आउँदैन । न च पुनरावर्तते अर्थात् मुक्त हुन्छ ।