गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, कला, संस्कृति र सम्पदा हाम्रो सान, पहिचान र वैभव भएको बताउनुभएको छ । नेपालमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल–२०२५’ को शुक्रबार उद्घाटन गर्दै उहाँले नेपाललाई विश्वमा चिनाउने प्रमुख आधारका रूपमा रहेका कला, संस्कृति र सम्पदाको संरक्षण, संवर्धन तथा प्रवर्धन सरकार मात्र नभएर निजी क्षेत्र र आमनागरिक सबैको साझा दायित्व भएको बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर, भाषा, कला, संस्कृति र सम्पदाको संरक्षण तथा विकासलाई हामीले प्राथमिकता दिनु पर्छ । यसको विकास, विस्तार र संरक्षणमा सबै क्रियाशील हुन आवश्यक छ ।”
हाम्रा प्राचीन र ऐतिहासिक धरोहर, कला, सांस्कृतिक सम्पदा एवं गतिविधिको अध्ययन, अनुसन्धान र अवलोकन गर्न बर्सेनि विदेशी पर्यटक नेपाल भित्रिने गरेको जनाउँदै उहाँले यसको संरक्षणका लागि सम्पदाप्रेमी सरोकारवाला सदैव सक्रिय रहनुपर्ने बताउनुभयो ।
कला महोत्सवले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरका कथा विश्वसामु चिनाउन योगदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाली कला, संस्कृति र सम्पदाबारे स्वदेश तथा विदेशमा व्यापक प्रचारप्रसार गर्न सके पर्यटकको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने धारणा राख्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले महोत्सवलाई नेपालको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताउनुभयोे । मन्त्री पाण्डेले महोत्सवलाई वार्षिक क्यालेन्डरमा समेट्दै हरेक वर्ष अझ विस्तृत र व्यवस्थित रूपमा आयोजना गरिने समेत जानकारी दिनुभयो
यसै गरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रायः पर्वतीय र साहसिक पर्यटनका लागि चिनिए पनि यो महोत्सवमार्फत नेपाललाई कला र सांस्कृतिक धरोहरको भण्डारका रूपमा प्रस्तुत गर्न लागिएको बताउनुभयो ।
नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले यस्ता सांस्कृतिक पर्वले अन्तर्राष्ट्रियस्तरमै ठुलो महìव राख्ने भएकाले यसलाई ‘वैश्विक सांस्कृतिक पर्व’ का रूपमा विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो । काठमाडौँ, ललितपुर, भक्तपुर र कीर्तिपुरका विभिन्न ठाउँमा २३ दिनसम्म चल्ने महोत्सवमा ४० भन्दा बढी कार्यव्रmम हुने छन् । जसमा १५४ कलाकारका २७३ कलाकृति प्रदर्शनीमा राखिएका छन् । महोत्सव आगामी असोज ११ गतेसम्म चल्ने छ ।